सीएनआई युवा उद्यमी मञ्चको आठौँ वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

विज्ञापन
ncell

काठमाडौँ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो आठौँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । शुक्रबार काठमाडौँको होटेल र्याडिसनमा सभा सम्पन्न भएको हो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्ल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष बीरेन्द्रराज पाण्डे तथा पूर्वमन्त्री अनिल सिन्हाले साधारण सभाको उद्घाटन गरेका थिए ।

सीएनआईवाइईयएफका अध्यक्ष मनिष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै युवा उद्यमीहरूको सशक्तीकरणमा मञ्चले खेलेको भूमिकाबारे प्रकाश पारेका थिए । स्टार्टअप चेयर श्चिराग सरावगीले सीएनआईवाइईयफका विगतका गतिविधि तथा उपलब्धिहरू बारे प्रस्तुतीकरण गरेका थिए ।

सो अवसरमा विगत वर्षमा उत्कृष्ट योगदान पुर्‍याउने सदस्य तथा च्याप्टरहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो। जसमा समिति तथा कार्यक्रमहरूमा सक्रिय सहभागिताका लागि जितेन्द्र बहातीलाई ‘मोस्ट एक्टिभ मेम्बर (पुरुष)’, प्रमुख पहलहरूमा पुर्‍याएको योगदानका लागि नेहा अग्रवाललाई ‘मोस्ट एक्टिभ मेम्बर (महिला)’, र सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा सुधिज्ञ पन्तलाई ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।

साथै, सक्रिय सदस्य विस्तार तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरेकोमा सीएनआईवाइईयफ लुम्बिनी च्याप्टरलाई ‘च्याप्टर ग्रोथ अवार्ड’ र उत्कृष्ट कार्यसम्पादनसहित च्याप्टरलाई अनुकरणीय बनाएकोमा सीएनआईवाइईयफ कोशी च्याप्टरलाई ‘च्याप्टर एक्सेलेन्स अवार्ड’ द्वारा सम्मानित गरिएको थियो ।

साधारणसभाले आगामी कार्यकालका लागि नयाँ गभर्निङ काउन्सिलको औपचारिक परिचय तथा पदस्थापन (पिनिङ) समारोह पनि सम्पन्न गरेको थियो । राष्ट्रिय योजना आयोगका सदस्य डा.पुकार मल्ल, सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वमन्त्री अनिल सिन्हा तथा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई पिन लगाई कार्यकालको शुभारम्भ गराएका थिए ।

नयाँ नेतृत्वअनुसार सुगम घिमिरे अध्यक्ष, मनीष श्रेष्ठ इमिडियट पास्ट प्रेसिडेन्ट, चिराग सारावगी लर्निङ चेयर, शाइनी खेतान मेम्बरसिप एण्ड इन्टिग्रेसन चेयर, निदा डुन मल्ल स्टार्टअप, उद्यमशीलता तथा नवप्रवर्तन चेयर, सुजीत रेग्मी सरकार तथा कूटनीतिक सम्बन्ध चेयर, पुनित अग्रवाल कम्युनिकेसन्स एण्ड एक्सपान्सन चेयर, यश अग्रवाल स्ट्राटेजिक एलायन्स एण्ड कम्युनिकेसन्स चेयर तथा अंकुर अग्रवाल फाइनान्स एण्ड इन्टरनेशनल रिलेसन्स चेयर चयन भएका छन्। उनीहरूलाई न्यान्सी अग्रवाल, सचेत मानन्धर र चेतन प्रधानले सह-अध्यक्ष (को-चेयर)का रूपमा साथ दिनेछन्।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा.पुकार मल्लले उद्यम विकास कोष (इन्टरप्राइज डेभलपमेन्ट फेसिलिटी)का लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै युवा उद्यमशीलताको प्रवर्द्धनका लागि सीएनआईवाईईएफसँग सहकार्य गर्न आयोग इच्छुक रहेको बताए। उनले तथा सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकासमा सीएनआईवाईईएफले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।