२०२६ जुलाईमा भित्रिए साढे ७१ हजार बढी पर्यटक, चिनियाँ पर्यटक कोभिडपूर्वको भन्दा बढी
२०२५ जुलाईमा चीनबाट ६ हजार ८९० पर्यटक आएकोमा जुलाई २०२६ मा ६१.०९ प्रतिशतले बढेर ११ हजार ९९ चिनियाँ पर्यटक नेपाल आएका छन् । यस वर्ष जुलाईमा कोभिडपूर्व आएको भन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । कोभिडपूर्व २०१९ जुलाईमा १० हजार २१५ चिनियाँ पर्यटक नेपाल आएका थिए ।
काठमाडौं । सन् २०२६ जुलाईमा ७१ हजार ७७५ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाईमा नेपाल आएको पर्यटकको संख्या २०२५ जुलाईको ७० हजार १९३ जनाको तुलनामा २.३ प्रतिशत बढी हो । जुलाई महिनालाई नेपालमा मध्य मनसुनको समय मानिन्छ । यो समयमा बढी वर्षा हुने र त्यसले बाढी तथा पहिरोको जोखिम बढाउँदा पर्यटकहरुलाई घुमफिरमा समस्या हुने गर्दछ ।
बोर्डका अनुसार जुलाईमा पनि सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २३ हजार ४९० जना पर्यटक आएका हुन् । जुलाईमा भारतीय पर्यटकको संख्या कुल कुल पर्यटक आगमनको ३२.७३ प्रतिशत हो । भारतपछि चीनबाट आउने पर्यटकको संख्या उल्लेख्य छ । २०२५ जुलाईमा चीनबाट ६ हजार ८९० पर्यटक आएकोमा जुलाई २०२६ मा ६१.०९ प्रतिशतले बढेर ११ हजार ९९ चिनियाँ पर्यटक नेपाल आएका छन् । यस वर्ष जुलाईमा कोभिडपूर्व आएको भन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । कोभिडपूर्व २०१९ जुलाईमा १० हजार २१५ चिनियाँ पर्यटक नेपाल आएका थिए ।
छिमेकी मुलुक भारत र चीनपछि नेपालमा अमेरिकी पर्यटकहरुको बर्चस्व छ । अमेरिकाबाट जुलाईमा ७ हजार ७५४ जना पर्यटक आएका छन् । त्यसैगरि बंगलादेशबाट ४ हजार १७९, बेलायतबाट ३ हजार ७७३ र अस्ट्रेलियाबाट २ हजार ४२८ जना पर्यटक नेपाल भित्रिएका छन् ।
क्षेत्रगत रुपमा हेर्दा दक्षिण एसियाली मुलुकबाट आउने पर्यटक संख्या सबैभन्दा बढी छ । जुलाईमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकबाट २९ हजार ७५५ जना पर्यटक नेपाल आएका छन् । जुलाईमा सार्क मुलुकबाट आएका पर्यटकको संख्या कुल आगमनको ४१.४६ प्रतिशत हो । तर, यसअवधिमा सार्क राष्ट्रबाट आएका पर्यटकको संख्या २०२५ जुलाइक्षर््को भन्दा कम छन् । २०२५ जलाई सार्क मुलुकबाट नेपालमा ३३ हजार ७८७ पर्यटक नेपाल भित्रिएका थिए । जुन २०२६ जुलाईको तुलनामा ११.९३ प्रतिशतले कम हो । २०२६ जुलाईमा सार्क राष्ट्रभित्रका भुटानबाट ९९१, पाकिस्तान ४७५, श्रीलंका ५८१ र माल्दिभ्सबाट ३९ पर्यटक नेपाल आएका छन् ।
दक्षिण एसिया बाहेक अन्य एसियाली देशबाट जुलाईमा १७ हजार ४२४ पर्यटक नेपाल आएका छन् । यो संख्या कुल पर्यटक आगमनको २४.२८ प्रतिशत हो । २०२५ जुलाईमा भने १३ हजार ५२ जना पर्यटक नेपाल आएका थिए । २०२६ जुलाईमा चीनपछि दक्षिण कोरियाबाट १ हजार ३९४, मलेसिया १ हजार ३८०, जापान १ हजार १११, भियतनाम ५७४, सिंगापुर र म्यानमारबाट समान ४३७ तथा थाइल्यान्डबाट ४२८ जना पर्यटक नेपाल आएका छन् ।
त्यसैगरी २०२६ जुलाईमा युरोपबाट ९ हजार २७९ पर्यटक नेपाल आएका छन् । कुल पर्यटक आगमनमा युरोपको हिस्सा १२.९३ प्रतिशत छ । युरोपमा बेलायतबाट ३ हजार ७७३, जर्मनी ७२३, स्पेन ६८१, फ्रान्स ६४४, नेदरल्यान्ड्स ५१४, पोर्चुगल ४८९ र रुसबाट ४६७ जना छन् ।
अमेरिकी देशबाट २०२६ जुलाई ८ हजार ८२४ पर्यटक नेपाल भित्रिएका छन् । ओसिनियाबाट २ हजार ६७, मध्यपूर्व (खाडी) बाट ७३६ र अफ्रिकी देशबाट ३२४ जना पर्यटकले नेपालको आतिथ्यता ग्रहण गरेका छन् ।
