पटक-पटकको ग्यास अभावले नागरिकलाई सास्ती, कहिले सहज हुन्छ?

विज्ञापन
ncell

काठमाडौं । नेपाली नागरिक फेरि एकपटक ग्यास अभावको चपेटामा परेका छन् । सरकारले ग्यास अभाव नरहेको बताएपनि नागरिक भने चारदेखि पाँच दिनसम्म लाइन बस्दासमेत ग्यास नपाएको भन्दै असन्तुष्टि पोखिरहेका छन् । 

अहिले विभिन्न ठाउँहरुमा नागरिकहरु ग्यास लिनका लागि दिनहुँ घण्टौं लाइन बसिरहेका छन् । तर, पनि ग्यास आपूर्ति कहिले सहज हुन्छ भन्ने विषय अझै अन्यौल अवस्थामा नै छ । 

हुन त पछिल्लो केही महिना यता मात्रै नेपाली नागरिकरले ग्यास अभावको समस्या पटकपटक व्यहोरीसकेका छन् । नेपाल आयल निगमले ग्यास अभावका कारण २०८२ फागुन २८ गतेदेखि आधा सिलिण्डर अर्थात् ७.१ केजी ग्यास बिक्री गर्ने व्यवस्था लागू गरेको थियो । 

सो समयमा दक्षिण एसिया र रुस–युक्रेन युद्ध र आपूर्तिमा देखिएको अवरोधका कारण सिर्जना भएको मनोवैज्ञानिक त्रास र अभावलाई मध्यनजर गर्दै मन्त्रालयले ७.१ केजीको आधा सिलिण्डर वितरण गर्ने निर्णय गरेको थियो ।

वि.सं. २०७२ सालको नाकाबन्दीको अभ्यासलाई पछ्याउँदै आपूर्तिलाई व्यवस्थित गर्न उक्त कदम चालिएको भएपनि ग्यास आपूर्ति सहज हुँदै गएपछि पूर्ण तौलकै सिलिण्डर विक्री गर्ने निर्णयमा सरकार पुगेको थियो । जसअनुसार गत असारदेखि मात्रै सरकारले पूर्ण तौलको सिलिण्डर बिक्री गर्न थालेको थियो । 

तर, पूरा सिलिण्डर बिक्री गर्न थालेको एक महिना नबित्दै बजारमा फेरि ग्यास अभावको समस्या बढेर गएको हो । ग्यास विक्रेताका अनुसार बजारमा देखिएको ग्यास अभाव आपूर्ति घटेका कारण नभई उपभोक्ताले एकै पटक धेरै खाली सिलिण्डर भर्न खोज्नु र आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न थाल्नु हो । 

केही महिनादेखि बजारमा थन्किएका करिब ४८–५० हजार टन बराबरका खाली सिलिण्डर एकै पटक रिफिल गर्न आउँदा अहिलेको आपूर्तिले माग धान्न नसकेको बिक्रेताहरुको दाबी छ । 

यसअघिको ‘हाफ ग्यास’को प्रयोगले पनि रिफिलिङ चक्र छोटिएर समस्या बढेको र यसको प्रत्यक्ष असर एउटामात्र सिलिण्डर भएका विद्यार्थी र साना परिवारमा परेको विक्रेताहरु बताउँछन् । 

एआर सप्लार्यसका सञ्चालक अर्जुन खत्रीका अनुसार ग्यास अभावको मुख्य कारण उपभोक्ताको एकैपटक बढ्ने माग हो । ‘बजारमा देखिएको ग्यास अभाव आपूर्ति घटेका कारण होइन, उपभोक्ताले एकै पटक धेरै खाली सिलिण्डर भर्न खोज्नु र आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न थालेका कारणले हो,’ खत्रीले धनतेरससँग भने, ‘केही महिनासम्म पर्याप्त आपूर्ति नहुनु र चाडपर्व नजिकिनुले पनि बजारमा ग्यास अभाव भएको हो ।’

उनका अनुसार नेपालमा एलपी ग्यासका सिलिण्डरको संख्या धेरै भएकाले अभावको संकेत देखिनेबित्तिकै उपभोक्ताले एकैचोटि ग्यास भर्न वा नयाँ सिलिण्डर लिन खोज्ने गर्छन् । यसले सहज अवस्थामा पनि बजारमा थप दबाब सिर्जना गरी अभावको सिर्जना गर्ने गर्दछ । 

पछिल्ला करिब चार महिनासम्म ग्यासको आपूर्ति पूर्ण क्षमतामा हुन नसकेको, धेरै उपभोक्ताले भविष्यमा अभाव हुन सक्ने अनुमान गर्दै सिलिण्डर जोगाएर राखेको जस्ता कारणले बजारमा ग्यास अभाव देखिउको उनको भनाइ छ । 

‘नेपाल आयल निगमले हाल भइरहेको आयातभन्दा केही बढी ग्यास उद्योगहरूलाई उपलब्ध गराए एकदेखि डेढ साताभित्र बजार सहज बनाउन सकिन्छ,’ उनले भने, ‘पर्याप्त ग्यास उपलब्ध भएपछि उपभोक्तासम्म वितरण पनि सहज हुन्छ जसले हालको समस्या समाधान हुनसक्छ ।’

नेपाल आयल निगमका अनुसार अहिले १४.२ किलो तौल भएको सिलिण्डर उपलब्ध हुन थालेपछि उपभोक्ता एकै पटक ३ देखि ४ वटा सिलिण्डर भर्न आएपछि बजार असहज बनेको हो । 

पूर्ण तौलको सिलिण्डर पाउने भएपछि एक्कासी बढि सिलिण्डर राखेका उपभोक्ता लिन आएपछि बजार अस्तव्यस्त बन्नुका साथै माग पनि अत्यधिक बढेको र यसले गर्दा सामान्य समयमा खपत हुने ४५ हजार मेट्रिक टनको साटो अहिले ५५ हजारदेखि ६० हजार मेट्रिक टनको माग बढेको निगमको दाबी छ । 

निगमले अनावश्यक संख्यामा घरमा ग्यासको जम्माखोरी (सञ्चय) नगर्न पनि आग्रह गर्दै आएको छ । हालको अवस्थाले एक थान सिलिण्डर राख्ने उपभोक्ता सबैभन्दा बढी पीडित भएकाले धेरै सिलिण्डर एकैपटक भण्डारण नगर्न निगमले आग्रह गर्दै आएको हो । 

बजारको मासिक माग ४४ हजार मेट्रिक टन हुँदा हुँदै पनि ७.१ किलो तौल भएको सिलिण्डर नीति लागु भएको थियो । जसअनुसार गत चैतमा ३८ हजार ८ सय, बैशाखमा ३२ हजार ५६, जेठमा ३३ हजार ८ सय ४२ र असारमा ४४ हजार ५ सय ४४ मेट्रिक टनको हाराहारीमा देशभर ग्यास बिक्री भएको थियो । 

यहि हाराहारीमा ग्यास आयातसमेत भएको पाइएको छ । यस्तै साउन १ गतेदेखि १५ गतेसम्ममा २६ हजार मेट्रिक टन आयात भएको छ । गत वर्षको साउन महिनामा ४४ हजार ३ सय १८ र अघिल्लो आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा ४५ हजार ७ सय ३५ मेट्रिक टन ग्यास आपूर्ति भएको थियो ।

पछिल्लो समयमा सबैभन्दा बढी फागुन महिनामा ५१ हजार १ सय ९२ मेट्रिक टन ग्यास आयात भएको तथ्यांक निगमसँग छ । यसरी हेर्दा कूल मागको करिब तीन चौथाईको हाराहारीमा मात्रै ग्यास आपूर्ति हुनु र तौल पनि आधि मात्रै हुनुले पनि बजारमा बिस्तारै अभावको समस्या निम्त्याउँदै थियो । 

अहिले १४.२ तौलको सिलिण्डर नीति आएपछि बजारमा उक्त समस्या एकैपटक बाहिरिएको हो । जुलाई महिना(असार १७ देखि श्रावण १५ सम्म) को अवधीमा ४९ हजार ५ सय मेट्रिक टन ग्यास आपूर्ति भएको थियो भने अगस्त महिना (साउन १६ देखि भदौ १५ सम्म) को लागि ५५ हजार मेट्रिक टनको कोटा भारतसँग माग गरिएको छ ।

अमेरिका–इरानको युद्ध सुरु हुनासाथ गत् माघ फागुन महिनामा देशभरका उपभोक्ताले ग्यासको लागि चरम अभाव समस्या व्यहोर्न बाध्य भएका थिए । त्यो बेला ग्यासको मागलाई सम्बोधन गर्न फागुन महिनामा ५१ हजार १ सय ९२ मेट्रिक टन आयात गरी चैत महिनादेखि सरकारले आधि तौल (७.१ किलो) को सिलिण्डर कार्यान्वयन ल्याएको थियो । 

तर, पूरा सिलिण्डर वितरण गर्न थालेको एक महिना नबित्दै फेरि समस्या दोहोरिएपछि अब कसरी अगाडि बढ्ने भन्नेमा सरकार अन्यौलमा परेको छ ।