पूर्ण सिलिण्डर बिक्रीपछि एक्कासि बढ्यो ग्यासको माग, अभाव अझै केहि दिन रहने
पूर्ण १४ केजीको ग्यास वितरण गर्न थालेपछि बजारमा एक्सासी सिलिण्डर आउँदा वितरण प्रणालीमा चाप बढेको उनको भनाई छ ।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले ग्यास अभाव नभएपछि वितरण प्रणालीमा देखिएको समस्यका कारण अभाव देखिएको बताएका छन् । मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् । आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उनले बताए ।
पूर्ण १४ केजीको ग्यास वितरण गर्न थालेपछि बजारमा एक्सासी सिलिण्डर आउँदा वितरण प्रणालीमा चाप बढेको उनको भनाई छ । उनले पछिल्लो तीन महिनामा २३ लाख सिलिण्डर रिफिल नभएको बताए ।
तीन महिनाको तथ्यांक विश्लेषण गर्दा कम्तीमा ७० लाख सिलिण्डर बजारमा आउनुपर्नेमा ५४ लाख सिलिण्डर मात्रै रिफिल भएर वितरण भएको उनले जानकारी दिए । आधा सिलिन्डरबाट पूर्ण सिलिण्डर वितरण गर्न थालेपछि एकैपटक ठूलो संख्यामा सिलिण्डर बजारमा आउँदा माग अस्वाभाविक रूपमा बढेको उनको दाबी छ । यसअघि मासिक ४६-४७ हजार मेट्रिक टनको हाराहारीमा रहेको ग्यासको माग रहेकोमा हाल बढेर करिव ६० हजार मेट्रिक टन पुगेको उनले बताए ।
उनले इन्डियन आयल कर्पोरेसनसँग कम्तीमा एकदेखि डेढ महिनासम्मका लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिए । उनकाअनुसार हाल ६० हजार मेट्रिक टनको पूर्ण आपूर्ति नभएपनि करिब ५० हजार मेट्रिक टन ग्यास आपूर्ति गर्ने व्यवस्था गरिएको जानकारी दिए ।
‘कम्तिमा ७० लाख सिलिण्डर बजारमा आउनुपर्नेमा ५४ लाख सिलिण्डर मात्रै रिफिल भएर बजारमा आएको अवस्था देखियो । यो तीन महिनाको हामीले डेटा हेर्यौं भने करिब २३ लाख सिलिन्डरहरु चाहिँ यहाँबाट रिफिल हुन नसकेको अवस्था देखियो ।' उनले भने, 'अब यो प्रारम्भिक हाम्रो अहिलेको अध्ययनले देखाएको एउटा कारण हामीसँग जुन रिफिल हुनुपर्ने ग्याँस सिलिन्डरहरु छन्, ती रिफिल हुनुपर्ने ग्याँस सिलिन्डरहरु पूर्ण रूपमा रिफिल हुन सकेनन्। सबै ग्याँस सिलिन्डरहरु एकैचोटि बजारमा आएका कारण समस्या भएको उनको भनाई छ।
तथ्यांक हेर्दा अघिल्ला वर्षहरुमा जस्तै यो वर्षपनि ४६-४७ हजार माग देखिन्छ । हाफ सिलिण्डरबाट फूल सिलिन्डरमा जादा माग एकदमै माथि गएको जस्तो देखिन्छ । उनले भने । करिब ६० हजारको मेट्रिक टनको मागमा पुगेको अवस्था देखिन्छ । इण्डियन आयल कर्पोरेसनसँग डेढ महिनाको लागि थप ग्यास आपुर्ति दिन अनुरोध गरिएको भन्दै उनले अहिले ५० हजार मेट्रिक टन दिने भन्ने कुरा रहेको र साउनको १९ गतेसम्म ३१ हजार मेट्रिक टन ग्यास आइसकेको बताए।
साउन १९ गतेसम्म ३१ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको उल्लेख गर्दै उनले अझै केही समय ग्यास अपुग नै रहने बताए । उनकाअनुसार ४१ जिल्लामा ग्यासको धेरै समस्या नरहेको भएपनि २८ जिल्लामा केही समस्या देखिएको र करिव आठ जिल्लामा विशेष व्यवस्थापन तथा निगरानी आवश्यक रहेको बताए ।
