करको दायरा बढाउन ‘नेशनल लोटरी स्किम’ लागू

विज्ञापन
ncell

ताइवान, पूर्वी युरोप र दक्षिण पूर्वी एशियाली मुलुकका सफल अभ्यासहरूबाट प्रेरणा लिएर नेपालको परिवेश सुहाउँदो ढंगले यो कार्यक्रम ल्याइएको उनले उल्लेख गरे ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र मुलुकमा बिलिङ संस्कारको विकास गर्न ‘नेशनल लोटरी स्किम’ को औपचारिक शुभारम्भ गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ को पहिलो घोषणा समारोहलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।

बजेटमार्फत घोषणा गरिएको यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नु र हरेक आर्थिक गतिविधिलाई पारदर्शी बनाउनु रहेको अर्थमन्त्रीले स्पष्ट पारे । विगतमा आन्तरिक राजश्व विभागले म्यानुअल पद्धतिबाट यस्ता अभ्यास गरे पनि हाल आधुनिक प्रविधिको प्रयोग गरी ‘क्रिप्टोग्राफिक’ र ‘र्‍याण्डम सेलेक्सन’ विधि अपनाइएको उनले बताए ।

हालसम्म फोन-पे लगायतका डिजिटल माध्यमबाट भएका ७६ अर्ब रुपैयाँ बराबरका करिव २ करोडभन्दा बढी कारोबारहरू यस प्रणालीमा स्वतः आबद्ध भइसकेका छन् । आगामी दिनमा यो संख्या र रकममा उल्लेख्य वृद्धि हुने सरकारको अपेक्षा छ । अर्थमन्त्री वाग्लेले राजश्व चुहावट नियन्त्रण गर्न र अपारदर्शी करको जालोभन्दा बाहिर रहेका क्षेत्रलाई औपचारिक प्रणालीमा ल्याउन यो योजना कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । चालु आर्थिक वर्षका लागि सरकारले निर्धारण गरेको १५८० अर्ब रुपैयाँको महत्वाकांक्षी राजश्व लक्ष्य भेट्टाउन यस्ता स्किमले करको दायरा फराकिलो बनाउन मद्दत पुग्ने उनको तर्क छ । 

ताइवान, पूर्वी युरोप र दक्षिण पूर्वी एशियाली मुलुकका सफल अभ्यासहरूबाट प्रेरणा लिएर नेपालको परिवेश सुहाउँदो ढंगले यो कार्यक्रम ल्याइएको उनले उल्लेख गरे । यस कार्यक्रमको प्रचार-प्रसार गरी देशभर बिल लिने र दिने संस्कृतिको विकास गर्न अर्थमन्त्रीले सञ्चारकर्मीहरूलाई आग्रह समेत गरे । सुरुवाती चरणमा प्रोत्साहनमा केन्द्रित रहे पनि भविष्यमा कानूनको प्रभावकारी कार्यान्वयन (इन्फोर्समेन्ट) तर्फ अघि बढ्ने सरकारको योजना छ ।