'टेण्डर प्रणालीकै कारण विद्युत आयोजनामा ढिलाइ'

विज्ञापन
ncell

काठमाडौं । नेपाली काँग्रेसकी मुख्य सचेतक वासना थापाले प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार बसेको समितिको बैठकमा बोल्दै थापाले समितिको बैठक पर्याप्त संख्यामा बस्न नसकेको र विद्युत क्षेत्रमा नीतिगत सुधारको आवश्यकता रहेको औंल्याएकी छन् । बैठकमा थापाले विद्युत विस्तार र प्रशारण लाइन निर्माणमा भइरहेको ढिलासुस्ती र प्रशासनिक झन्झटबारे पनि चर्चा गरिन् ।

३३ केभी र २१ केभी प्रशारण लाइनको स्वीकृतिका लागि समेत केन्द्रमै आएर नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक (एमडी) वा उपप्रवन्ध निर्देशक (डीएमडी) सँग छलफल गर्नुपर्ने विद्यमान व्यवस्थाले काममा अवरोध पुर्‍याएको उनको तर्क छ । 

यसैगरी, टेण्डर प्रक्रियामा रहेको प्राविधिक त्रुटिका कारण पनि विद्युत क्षेत्रको काममा ढिलाइ भइरहेको उनले बताइन् । केन्द्रबाट सामाग्री पठाउने र स्थानीय स्तरबाट जनशक्ति परिचालन गर्ने भिन्न-भिन्न ठेक्का प्रणालीले गर्दा समन्वय हुन नसकेको र सामाग्री अभावमा काम रोकिने गरेको उनको भनाइ छ । स्थानीय स्तरमा भइरहेका कतिपय कामहरू दिगो नभएको भन्दै उनले यसतर्फ विशेष ध्यान दिन समितिको ध्यानाकर्षण गराइन् ।