महंगो हवाई भाडाले पर्यटनमा असर, निगमलाई बलियो बनाउन सोट्टोको माग

विज्ञापन
ncell

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप जहाज व्यवस्थापन गरी कम्पनी मोडलमा रूपान्तरण गर्न र अन्तर्राष्ट्रिय उडान विस्तार गर्न संस्थाले माग गरेको छ ।

काठमाडौं । सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर (सोट्टो-नेपाल) ले नेपालको अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी सीमित हुँदा विदेशी एयरलाइन्सको एकाधिकार बढेको र हवाई भाडा अत्यधिक महँगो भएको बताएको छ । सोट्टो नेपालले एक कार्यक्रम आयोजना गरी हवाई भाडा महँगीबारे धारणा सार्वजनिक गरेको हो । साथै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप जहाज व्यवस्थापन गरी कम्पनी मोडलमा रूपान्तरण गर्न र अन्तर्राष्ट्रिय उडान विस्तार गर्न संस्थाले माग गरेको छ ।

सन् २००८ मा स्थापना भएको सोट्टो-नेपालले स्थापनाकालदेखि नै पर्यटन व्यवसायीहरूको पेशागत हकहितको संरक्षण, व्यवसायमा देखिएका विकृति-विसङ्गतिको अन्त्य र स्वस्थ पर्यटकीय वातावरण निर्माणका लागि काम गर्दै आएको छ । सोट्टो-नेपालले नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सिंगापुर, मलेसिया, रसिया, फिनल्यान्ड, थाइल्यान्ड, भियतनाम, कम्बोडिया तथा भारतका विभिन्न राज्यहरूमा हरेक वर्ष सफलतापूर्वक प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको प्रेस नोटमा उल्लेख छ ।

त्यसैगरी, आन्तरिक पर्यटनतर्फ रारा, खप्तड, रेसुङ्गा, ऋषिकेश मन्दिर, सुपादेउराली तथा स्वर्गद्वारी जस्ता गन्तव्यहरूको प्रवर्द्धनमा संस्थाले सक्रिय भूमिका खेलिरहेको छ । स्थानीय तहसँगको सहकार्यमा गोकर्णेश्वर-हेलम्बु पदयात्रा र बुढानीलकण्ठको दाम्दागाउँमा होमस्टे प्रवर्द्धन जस्ता कार्यहरूले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको संस्थाको ठहर छ ।

 सोट्टो-नेपालका अध्यक्ष मान बहादुर शाहीद्वारा हस्ताक्षरित उक्त नोटमा आगामी दिनमा संघीय, प्रादेशिक र स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन क्षेत्रलाई समावेशी, प्रतिस्पर्धी र दिगो बनाउन अटल प्रतिबद्ध रहने उल्लेख गरिएको छ ।