ईभी किन्दा फिचरको चमकमात्रै होइन, ब्रान्डको भरोसा र दीर्घकालीन सेवालाई हेर्नुपर्छ
नेपालमा ईभीमा लाग्ने कर अन्य धेरै देशको तुलनामा कम भएकाले विश्व बजारका फिचरयुक्त गाडीहरू पनि प्रतिस्पर्धी मूल्यमा उपलब्ध छन् । यसले ग्राहकलाई बढी विकल्प दिएको छ । तर विकल्पको बहुलतासँगै सही छनोटको चुनौती पनि बढेको छ ।
काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन (ईभी) बजार अहिले तीव्र परिवर्तनको चरणमा छ । नयाँ-नयाँ ब्रान्डको प्रवेश, बढ्दो प्रतिस्पर्धा, कर नीतिको सहुलियत र प्रविधिको विकाससँगै ग्राहकका लागि विकल्पहरू पनि विस्तार भएका छन् । आजको बजारमा गाडी खरिद गर्ने अधिकांश ग्राहकको ध्यान सवारीको डिजाइन, ठूलो टचस्क्रिन, स्मार्ट कनेक्टिभिटी, एड्भान्स ड्राइभिङ सिस्टम र अन्य अत्याधुनिक फिचरतर्फ केन्द्रित देखिन्छ । सामाजिक सञ्जाल र युट्युबमा गरिने गाडीको रिभ्यु, इन्फ्लुएन्सर मार्केटिङ र डिजिटल प्रचार सामग्रीले पनि यही प्रवृत्तिलाई थप बल पुर्याइरहेका छन् ।
तर, गाडी खरिदजस्तो दीर्घकालीन निर्णयमा केवल फिचरलाई आधार बनाउनु कति उचित छ भन्ने प्रश्न महत्वपूर्ण बन्दै गएको छ । आकर्षक फिचरले ग्राहकलाई पहिलो नजरमै प्रभावित गर्न सक्छ, तर सवारीको वास्तविक मूल्य त्यसको दीर्घकालीन प्रयोग, विश्वसनीयता र बिक्रीपछिको सेवाबाट निर्धारण हुन्छ । अहिले धेरै ग्राहक गाडीको फिचर हेरेर प्रभावित हुने गरेका छन् । ठूलो स्क्रिन, नयाँ टेक्नोलोजी र स्मार्ट फङ्सनले ध्यान तान्नु स्वाभाविक पनि हो । तर गाडी खरिद गर्दा फिचरभन्दा पहिले ब्रान्डको विश्वसनीयता, आधिकारिक आयातकर्ताको क्षमता, कम्पनीको दीर्घकालीन योजना, नेपालमा गरेको लगानी, प्राविधिक जनशक्ति, स्पेयर पाट्र्सको उपलब्धता र डिलर नेटवर्कको अवस्था मूल्याङ्कन गर्न आवश्यक छ । कुनै पनि सवारीको वास्तविक परीक्षा बिक्रीको दिन होइन, प्रयोगका क्रममा आउने समस्या र त्यसको समाधानमा देखिन्छ ।
नेपालमा ईभीमा लाग्ने कर अन्य धेरै देशको तुलनामा कम भएकाले विश्व बजारका फिचरयुक्त गाडीहरू पनि प्रतिस्पर्धी मूल्यमा उपलब्ध छन् । यसले ग्राहकलाई बढी विकल्प दिएको छ । तर विकल्पको बहुलतासँगै सही छनोटको चुनौती पनि बढेको छ । फिचरले केही समय उत्साह दिन सक्छ, तर प्राविधिक समस्या आएपछि ग्राहकले खोज्ने कुरा सेवा, सपोर्ट र भरपर्दो नेटवर्क नै हो । त्यतिबेला कम्पनीको क्षमता, प्रशिक्षित प्राविधिक जनशक्ति र स्पेयर पाट्र्सको उपलब्धताले ग्राहकको अनुभव निर्धारण गर्छ ।
नेपालजस्तो भौगोलिक विविधता भएको देशमा एउटै प्रकारको सवारी सबैका लागि उपयुक्त हुन सक्दैन । सवारी छनोट गर्दा ग्राहकको आवश्यकता, दैनिक प्रयोग र यात्रा गर्ने सडकको प्रकृतिलाई केन्द्रमा राख्नुपर्छ । काठमाडौंभित्र दैनिक आवतजावत गर्ने व्यक्तिको आवश्यकता र नियमित रूपमा काठमाडौं-पोखरा वा अन्य लामो दूरी यात्रा गर्ने व्यक्तिको आवश्यकता फरक हुन्छ । काठमाडौंबाट नजिकैको क्लिनिकसम्म दैनिक जाने डाक्टरको आवश्यकता एउटा हुन सक्छ भने हरेक हप्ता विभिन्न जिल्लामा यात्रा गर्ने व्यवसायीको आवश्यकता अर्कै हुन सक्छ । त्यसैले विज्ञापन, ट्रेन्ड वा अरूको सिफारिसभन्दा आफ्नो प्रयोगको स्वरूपलाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ ।
शहरी प्रयोगका लागि ईभी अहिलेको सबैभन्दा प्रभावकारी र किफायती विकल्पमध्ये एक बनेको छ । कम सञ्चालन खर्च, वातावरणमैत्री प्रविधि र सहज चार्जिङ सुविधाले यसलाई लोकप्रिय बनाएको छ । तर दुर्गम पहाडी क्षेत्र, अफ-रोड यात्रा, कमजोर पूर्वाधार भएका स्थान वा अत्यधिक मौसमीय चुनौती हुने क्षेत्रमा भने ग्राहकले आफ्नो आवश्यकता अनुसार अन्य विकल्पहरू पनि विचार गर्नुपर्छ । यातायातको आवश्यकता सबैको समान हुँदैन र समाधान पनि एउटै हुन सक्दैन ।
ईभीको भविष्यबारे चर्चा गर्दा नेपालमा एउटा रोचक प्रवृत्ति देखिन्छ । धेरैले ब्याट्री ईभीलाई मात्रै विद्युतीय सवारीको रूपमा बुझ्ने गरेका छन् । तर वास्तवमा हाइब्रिड, प्लग-इन हाइब्रिड तथा इन्धनको खपत घटाउने नयाँ ऊर्जामा आधारित अन्य सवारीसाधन पनि यही परिवर्तनको हिस्सा हुन् । विश्व अटोमोबाइल उद्योग अहिले केवल ब्याट्री ईभीमा सीमित छैन । विभिन्न कम्पनीहरूले हाइब्रिड, प्लग-इन हाइब्रिड, हाइड्रोजन तथा अन्य वैकल्पिक ऊर्जा स्रोतमा आधारित प्रविधिमा ठूलो लगानी गरिरहेका छन् ।
अनुसन्धान, नवप्रवर्तन र नयाँ उत्पादनहरू निरन्तर बजारमा आइरहेका छन् । त्यसैले भविष्य केवल ब्याट्री ईभीको मात्र नभई नयाँ ऊर्जामा आधारित सम्पूर्ण सवारी प्रविधिको हुने सम्भावना देखिन्छ । यसको अर्थ आन्तरिक दहन इन्जिन (आईसीई) सवारीसाधनको भूमिका तत्काल समाप्त हुने होइन । आईसीई प्रविधिले दशकौंदेखि आफ्नो विश्वसनीयता प्रमाणित गरिसकेको छ । विश्वका धेरै देशमा अझै पनि यसको व्यापक प्रयोग भइरहेको छ । पूर्वाधार, प्रयोगको सहजता र विभिन्न भौगोलिक अवस्थासँगको अनुकूलताका कारण आगामी केही वर्षसम्म विभिन्न प्रविधिका सवारीसाधनहरू समानान्तर रूपमा बजारमा रहने सम्भावना प्रबल छ । ऊर्जा रूपान्तरणको यो यात्रा एकैपटक होइन, क्रमिक रूपमा अघि बढ्नेछ ।
नेपालमा ईभीको दोस्रो बजार (सेकेन्डह्यान्ड मार्केट) पनि क्रमशः परिपक्व बन्दै गएको छ । सुरुवाती चरणमा नयाँ प्रविधिप्रति धेरै अन्योल थियो । ब्याट्रीको आयु कति रहन्छ, मर्मत खर्च कति पर्छ, स्पेयर पाट्र्स सजिलै पाइन्छ कि पाइँदैन, पुनर्बिक्री मूल्य कस्तो हुन्छ भन्ने प्रश्नले ग्राहकलाई अन्योलमा राखेको थियो । त्यसैले सुरुवाती वर्षहरूमा ईभीको पुनर्बिक्री मूल्य अपेक्षाकृत कमजोर थियो । सेकेन्डह्यान्ड बजार वास्तवमा विश्वासमा चल्ने बजार हो । सेयर बजारमा आईपीओ र सेकेन्डरी मार्केटबीच जस्तो सम्बन्ध हुन्छ, ईभीको नयाँ र पुरानो बजारबीच पनि त्यस्तै सम्बन्ध देखिन्छ । जबसम्म ग्राहकले प्रविधिमाथि विश्वास गर्दैन, दोस्रो बजार बलियो बन्न सक्दैन ।
सुरुमा ब्याट्रीको अवस्था, भविष्यमा बदल्नुपरे लाग्ने खर्च र मर्मतसम्भारको विषयमा धेरै शंका थिए । तर पछिल्ला वर्षहरूमा ईभी प्रयोगकर्ताको संख्या बढ्दै जाँदा सकारात्मक अनुभवहरू पनि बढेका छन्। त्यसले बजारमा विश्वास निर्माण गरिरहेको छ ।आज सेकेन्डह्यान्ड ईभी किन्ने ग्राहकको संख्या बढिरहेको छ । बजार विस्तारको चरणबाट क्रमशः सामान्य र परिपक्व अवस्थातर्फ उन्मुख छ। यो परिवर्तनले उपभोक्ताको आत्मविश्वास बढ्दै गएको र ईभी प्रविधिले बजारमा आफ्नो विश्वसनीयता स्थापित गर्दै गएको संकेत गर्छ ।
अन्ततः गाडी भनेको केवल फिचरको संग्रह होइन, दीर्घकालीन लगानी हो । फिचरले ग्राहकको ध्यान तान्न सक्छ, तर दीर्घकालीन सन्तुष्टि दिने कुरा ब्रान्डको विश्वसनीयता, बिक्रीपछिको सेवा, प्राविधिक क्षमता र ग्राहकप्रतिको प्रतिबद्धता हो । नेपालको अटो बजार अझ परिपक्व हुँदै जाँदा उपभोक्ताले पनि चम्किला फिचरभन्दा दीर्घकालीन मूल्य, भरोसा र सेवाको गुणस्तरलाई प्राथमिकता दिनु आवश्यक देखिन्छ ।
