६५ मेगावाट दूधखोला जलविद्युत् आयोजनामा १० अर्ब ऋण सुनिश्चित, तीन वर्षभित्र उत्पादन लक्ष्य
आयोजना प्रवर्द्धक कम्पनी र वित्तीय संस्थाबीच भएको सम्झौताअनुसार एनएमबी बैंकले अगुवा (लिड) बैंकका रूपमा ६ अर्ब ८१ करोड रुपैयाँ तथा सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछन् ।
काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि ले मनाङमा निर्माण गर्न लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ । आयोजना निर्माणका लागि १० अर्ब १ करोड रुपैयाँ ऋण लगानी सुनिश्चित भएपछि निर्माण कार्यले गति लिने भएको छ ।
आयोजना प्रवर्द्धक कम्पनी र वित्तीय संस्थाबीच भएको सम्झौताअनुसार एनएमबी बैंकले अगुवा (लिड) बैंकका रूपमा ६ अर्ब ८१ करोड रुपैयाँ तथा सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछन् । दुवै बैंकबाट कुल १० अर्ब १ करोड रुपैयाँ ऋण लगानी जुटेको हो ।
मनाङमा निर्माण हुने यस आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । कुल लागतको अधिकांश हिस्सा बैंक ऋणमार्फत व्यवस्थापन गरिएको छ भने बाँकी रकम प्रवर्द्धक कम्पनीले आफ्नै स्रोतबाट जुटाउनेछ । प्रतिमेगावाट लागत करिब १९ करोड ८३ लाख रुपैयाँ मात्र रहने अनुमान गरिएको छ, जुन वर्तमान सन्दर्भमा तुलनात्मक रूपमा प्रतिस्पर्धी लागत मानिन्छ। यसले आयोजनालाई लगानीकर्ताको दृष्टिमा आकर्षक जलविद्युत् परियोजनाका रूपमा स्थापित गरेको छ ।
वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै कम्पनीले निर्माण कार्यलाई तीव्रता दिने तयारी गरेको छ । निर्माण सुरु भएको तीन वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीले लिएको छ । माउन्टेन इनर्जीले यसअघि ४२ मेगावाटको मिस्ट्रीखोला र ५ मेगावाटको ताँदीखोला जलविद्युत् आयोजना सफलतापूर्वक सञ्चालनमा ल्याइसकेको छ। दूधखोला आयोजना सम्पन्न भएपछि कम्पनीको कुल विद्युत् उत्पादन क्षमता उल्लेखनीय रूपमा विस्तार हुने अपेक्षा गरिएको छ ।
