मन्त्री मेहताको स्पष्टिकरण– धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको होइन

विज्ञापन
ncell

उनले लहान अस्पतालमा सिटी स्क्यान, चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त चाप तथा ब्लड बैंकको व्यवस्था रहेकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्न सकिने बताइन् ।

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रश्तावित ट्रमा सेन्टर निर्माणको योजना यथावत रहेको स्पष्ट पारेकी छन् । 

प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक, शुन्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्यत्र सार्न नखोजेको स्पष्ट पारेकी हुन् । मन्त्री मेहताका ढल्केबरमा तत्काल ट्रमा सेन्टर स्थापना गर्न आवश्यक पूर्वाधार नरहेको कारण लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा सेवा सञ्चालन गर्ने कार्य अघि बढेको जानकारी दिइन् । उनले तत्काल दुर्घटनामा घाइते हुनेहरु काठमाडौं आउन नपरोस् भनेर लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा सेवा शुरु गर्न लागिएको जानकारी दिइन् । उनले लहान अस्पतालमा सिटी स्क्यान, चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त चाप तथा ब्लड बैंकको व्यवस्था रहेकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्न सकिने बताइन् । सडक दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न देशका सबै भागमा समयमै ट्रमा उपचार सेवा उपलब्ध गराउने सरकारको नीति रहेको उनले उल्लेख गरिन् । सोही नीतिअनुसार प्रत्येक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने र आवश्यकताअनुसार ट्रमा युनिट सञ्चालन गर्ने योजना अघि बढाइएको उनको भनाइ छ ।

उनले स्वास्थ्य सेवा कुनै क्षेत्र विशेषको विषय नभई नागरिकको मौलिक आवश्यकताको विषय भएकाले तत्काल सेवा विस्तारसँगै दीर्घकालीन स्वास्थ्य पूर्वाधार निर्माणलाई पनि सँगसँगै अघि बढाइरहेको बताइन् । ढल्केबरमा प्रश्तावित ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै सरकारको विरोध हुँदै आएको छ ।