नागरिक लगानी कोषको नाफा ७.७२ प्रतिशत बढ्यो, १ अर्ब ३५ करोड रुपैयाँ कमाई

विज्ञापन
ncell

कोषको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा बढेर १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ पुगेको छ ।

काठमाडौँ । नागरिक लगानी कोषको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार नागरिक लगानी कोषले खुद नाफामा ७.७२ प्रतिशतको वृद्धि हासिल गर्दै १ अर्ब ३५ करोड ३ लाख पुर्‍याएको छ । कोषको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा बढेर १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कोषले १ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कोषको कुल आम्दानीसमेत ७.२८ प्रतिशतले बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । कुल आम्दानीमा सेवा शुल्क तथा कमिसनबाट १ अर्ब ७९ करोड रुपैयाँ र ब्याज आम्दानीबाट ३६ करोड ४७ लाख रुपैयाँ योगदान रहेको छ । नागरिक लगानी कोषको खुद कोष मौज्दात बढेर ३ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ । कोषले विभिन्न क्षेत्रमा गरेको कुल लगानीसमेत ३ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ ।

कोषको लगानीमध्ये सबैभन्दा ठूलो हिस्सा मुद्दती निक्षेपमा रहेको छ। कोषको वित्तीय विवरणअनुसार मुद्दती निक्षेपमा १ खर्ब ४० अर्ब १९ करोड रुपैयाँ लगानी रहेको छ । त्यस्तै, सहभागी सापटी तथा आवास कर्जामा ७२ अर्ब ३६ करोड रुपैयाँ लगानी गरिएको छ ।

सङ्गठित संस्थाको सेयर तथा धितोपत्रमा कोषको ३३ अर्ब ५८ करोड रुपैयाँ लगानी रहेको छ। समयकालीन कर्जातर्फ २८ अर्ब १५ करोड रुपैयाँ लगानी रहेको छ । नेपाल सरकारको ऋणपत्रमा १५ अर्ब ७० करोड रुपैयाँ तथा ट्रेजरी बिलमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको वित्तीय विवरणमा उल्लेख छ ।

कोषको बैंक मौज्दात २९ अर्ब १६ करोड रुपैयाँ रहेको छ । उचित मूल्य समायोजित सम्पत्ति ७ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । कोषको कुल सम्पत्ति ३ खर्ब ७० अर्ब २७ करोड ९४ लाख रुपैयाँ पुगेको छ। त्यसमध्ये खुद स्थिर सम्पत्ति करिब २ अर्ब ७७ करोड ५७ लाख रुपैयाँ रहेको छ । कोषको वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ४७ पैसा कायम भएको छ । कोषको लगानी प्रतिफल अघिल्लो आर्थिक वर्षको ५.६८ प्रतिशतबाट घटेर ४.२७ प्रतिशत मा झरेको छ। अर्थात् एक वर्षमा लगानी प्रतिफल १.४१ प्रतिशत बिन्दुले घटेको छ । कोषले घट्दो ब्याजदरलाई वित्तीय प्रदर्शनमा असर पार्ने प्रमुख बाह्य चुनौतीका रूपमा उल्लेख गरेको छ ।