व्यापारसँगै सानिमा रिलायन्सको नाफा बढ्यो, यस्ता छन् अन्य सूचक
गत आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६९ प्रतिशत बढी हो ।
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३७ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा १८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३५ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटी ८ करोड ६८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष महाविपत्ति कोषमा १४ करोड ७८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५३ करोड २७ लाख रुपैयाँ र अन्य इक्विटी ७ करोड ८२ लाख रुपैयाँ थियो ।
गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषमा २५ अर्ब १२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षमा जीवन बीमा कोषमा १९ अर्ब २९ करोड ८१ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३०.१७ प्रतिशतले बढेको छ । समीक्षा वर्षमा कम्पनीले ८ अर्ब ९ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ७ अर्ब ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १५.४९ प्रतिशतले बढेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ७ अर्ब ८५ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६ अर्ब ७६ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १६.१७ प्रतिशतले बढेको छ ।
सेयरपुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ७.६५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ७.५३ रुपैयाँ थियो। पीई रेसियो ४९.४९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.६२ रुपैयाँ रहेको छ ।
