सिंहदरबारमा सुलभ मूल्यको खाद्य विक्री कक्ष सञ्चालन, १४२ प्रकारका सामग्री उपलब्ध

विज्ञापन
ncell

काठमाडौं । सिंहदरबार परिसरमा सुलभ मूल्यको खाद्य विक्री कक्ष सुरु गरिएको छ । बिहीबार मन्त्रालय परिसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले सुलभ मूल्यको खाद्य विक्री कक्षको उद्घाटन गरेकी हुन् । विक्री कक्षको समुद्घाटन गर्दै मन्त्री कुमारीले यस केन्द्रबाट सिंहदरबारमा कार्यरत कर्मचारी तथा विभिन्न कार्यका लागि आउने सेवाग्राहीहरू लाभान्वित हुने विश्वास व्यक्त गरिन् । उनले कर्मचारीहरूले कार्यालय समयपछि घर फर्कने क्रममा सहजै किनमेल गर्नसक्ने भएकाले यसबाट समयको वचत हुने र व्यापार प्रवद्र्धनमा समेत टेवा पुग्ने बताइन् । उनले सिंहदरबार प्रवेश गर्ने सबैलाई एकपटक विक्री कक्षको अवलोकन गर्न र सेवा लिन आग्रह समेत गरिन् । मन्त्री कुमारीकाअनुसार हाल यस्ता विक्री कक्षहरू विभिन्न पाँच स्थानमा सञ्चालनमा रहेका छन् । आगामी दिनमा यस सेवालाई थप विस्तार गर्ने योजना रहेको जानकारी दिँदै उनले निजी क्षेत्रको भाटभटेनी जस्ता सुपरमार्केटहरूमा समेत सरकारी स्टल राख्ने विषयमा गृहकार्य भइरहेको बताइन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा सिंहदरबार परिसरभित्र सहुलियत मूल्यको खाद्य विक्री कक्ष सञ्चालनमा ल्याएको हो । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराज लम्सालले कार्यालय समयपछि खाद्यान्न खरिद गर्न कठिनाइ हुने कर्मचारी तथा सेवाग्राहीहरूको ठूलो मागलाई सम्बोधन गर्दै सम्बन्धित मन्त्री र सचिवको निर्देशनमा यो सेवा ु्रु गरिएको बताए । विक्री कक्षको उद्घाटन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत लम्सालले देशभरका १ सय ९३ स्थानबाट कम्पनीले सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराइरहेको जानकारी दिए । उनकाअनुसार कम्पनीसँग उपलब्ध रहेका विभिन्न प्रकारका खाद्यान्नमा प्रतिकिलोग्राम ५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । दुर्गम क्षेत्रमा सेवाको पहुँचबारे उठेका प्रश्नको स्पष्टीकरण दिँदै लम्सालले कर्णालीका सबै जिल्ला र स्थानीय तहहरूमा सम्झौतामार्फत विक्री केन्द्रहरू सञ्चालनमा रहेको बताए । 

कम्पनीले किसानबाट समर्थन मूल्यमा खाद्यान्न खरिद गर्ने र उपभोक्ताहरूलाई सहुलियत दरमा उपलब्ध गराउने गरी दोहोरो भुमिका निर्वाह गरिरहेको दाबी गरेको छ । कोरोना महामारीको समयमा सुरु गरिएको ‘होम डेलिभरी’ सेवा हाल पनि विशेष परिस्थितिमा उपलब्ध रहेको तर उपभोक्ताहरूले स्वयं उपस्थित भएर सामान रोजेर लिन बढी रुचाएको लम्सालको भनाइ छ । सरकारको पछिल्लो सक्रियतापछि दुग्ध विकास संस्थान ९डिडिसी० झैँ खाद्य व्यवस्था कम्पनीले पनि आफ्नो सेवा विस्तारमा तिब्रता ल्याएको र आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरेको छ । निमित्त प्रमुख लम्सालले आम उपभोक्ताहरूलाई कम्पनीद्वारा उपलब्ध गराइएका खाद्य तथा गैर-खाद्य वस्तुहरूको सेवा लिन आह्वान समेत गरे ।