अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न अर्थसमितिको निर्देशन
काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको अर्थसमितिको बैठकले विमानस्थलको पूर्वाधार विस्तारसँगै विभिन्न चार वटा विषयमा सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।
समितिका सभापति डा. कृष्णहरि बुढाथोकीकाअनुसार उपसमितिले गरेको स्थलगत अध्ययन तथा अनुगमनबाट प्राप्त सुझावका आधारमा अन्य विषयगत समितिमार्फत निर्देशन दिन लागिएको हो । समितिले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका अध्यागमन तथा भन्सार कार्यालयका परिसर साँघुरा भएकाले आवश्यक विस्तार तथा व्यवस्थापन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय विमानस्थलका भौतिक संरचनाको नियमित मर्मतसम्भार गरी चुस्तदुरुस्त राख्न तथा ती संरचनाको प्रयोग गर्दा सर्वसाधारण नागरिकलाई अनावश्यक आर्थिक भार नपर्ने गरी उचित नियमन र व्यवस्थापन गर्न पनि प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको सभापति बुढाथोकीले जानकारी दिए ।
समितिले नेपालमा सञ्चालित उद्योगका लागि प्रतिष्पर्धी दरमा गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गश्यक व्यवस्था मिलाउन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले प्रभावित स्थानीयले पाउने सुविधा सुनिश्चित गर्दै जलविद्युत् क्षेत्रमा भएको लगानी तथा लगानीकर्ताको सुरक्षाको प्रत्याभूति यथाशिघ्र गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
जलविद्युत् आयोजनामा स्थानीयबाट विभिन्न माग राखी अवरोध सिर्जना गरी आर्थिक बार्गेनिङ हुने क्रमले लगानीकर्तामा असुरक्षाको अवस्था सिर्जना भएको समितिको निष्कर्ष छ । समितिले लगानी सुरक्षाको विषयलाई पनि प्राथमिकतामा राखेको छ । सभापति बुढाथोकीले चार वटा विषयगत समितिले गरेको अध्ययनबाट प्राप्त सुझावको आधारमा बैठकमा विभिन्न विषयमा १३ वटा बुँदामा निर्देशन र चार वटा विषयमा सम्बन्धित विषयगत समितिमा जानकारी गराउनेगरी निर्देशन दिने निर्णय गरिएको जानकारी दिए ।
