भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउँछन् : सभामुख अर्याल

विज्ञापन
ncell

सभामुख अर्यालले नेपाल पर्यटन बोर्डको नीतिगत पुनर्संरचना गर्नुपर्नेमा जोड दिँदै कार्यसम्पादनमा आधारित नेतृत्व आवश्यक रहेको बताए ।

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी सरकारले घनीभूत छलफल गरिरहेको बताएका छन् । उनले ती विमानस्थलबाट हवाई सेवा छिट्टै नियमित हुने विश्वास व्यक्त गरेका हुन् ।

नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै सभामुख अर्यालले पर्यटन क्षेत्रको विकासका लागि संरचनागत तथा नीतिगत सुधार आवश्यक रहेको बताए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा समेत सरकार गम्भीर रहेको र आवश्यक बहस अघि बढिरहेको जानकारी दिए ।

सभामुख अर्यालले नेपाल पर्यटन बोर्डको नीतिगत पुनर्संरचना गर्नुपर्नेमा जोड दिँदै कार्यसम्पादनमा आधारित नेतृत्व आवश्यक रहेको बताए । पर्यटन बोर्ड तथा अब नियुक्त हुने प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकाल पनि कार्यसम्पादन र नतिजाका आधारमा मूल्यांकन हुनुपर्ने उनको भनाइ थियो । अब कुनै पनि क्षेत्रमा हुने नियुक्ति योग्यता र नतिजामुखी हुनुपर्ने उनले स्पष्ट पारे ।

नेपाल वायुसेवा निगमको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अर्यालले वर्तमान संरचनाबाट निगमको प्रभावकारी सुधार सम्भव नरहेको बताए । निगमलाई पुनः सबल बनाउन सकिने आधार पर्याप्त भए पनि व्यक्तिगत स्वार्थका कारण संस्था पछाडि परेको उनको टिप्पणी थियो । उनले निगमको सुधारका लागि गम्भीर कदम चाल्न पर्यटनमन्त्रीलाई आग्रह गरे ।

पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) एकअर्कासँग अन्तरसम्बन्धित निकाय भएकाले प्रभावकारी समन्वय आवश्यक रहेको सभामुख अर्यालले बताए । नेपाललाई युरोपेली संघ (ईयू) को हवाई सुरक्षा सूचीबाट हटाउनु चुनौतीपूर्ण भए पनि अनिवार्य रहेको उल्लेख गर्दै उनले यसका लागि सबै सरोकारवाला निकायलाई सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरे ।

नेपालको पर्यटन बजारलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन संरचनागत र प्रवृत्तिगत सुधार पहिलो आवश्यकता रहेको उनले बताए । पर्यटन क्षेत्रमा प्रविधिको उच्चतम सदुपयोग गर्दै नयाँ पुस्तालाई आकर्षित गर्न विशेष पहल आवश्यक रहेको पनि उनको भनाइ थियो ।

वर्तमान सरकार र संसद्मा युवाहरूको बाहुल्यता रहेको उल्लेख गर्दै सभामुख अर्यालले विकास प्रक्रियाका लागि केही समय धैर्य गर्न नागरिकलाई आग्रह गरे । समाजमा नकारात्मक सन्देश प्रवाह गर्दा मुलुक असफलतातर्फ जाने भन्दै उहाँले सकारात्मक सोचका साथ अघि बढ्न सबै सरोकारवालालाई आग्रह गरे ।

वर्तमान सरकारले मुलुकलाई समृद्ध बनाउने ऐतिहासिक म्यान्डेट पाएको दाबी गर्दै अर्यालले पर्यटनसँगै उत्पादन, आयात-निर्यात र सुशासनका क्षेत्रमा समेत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने अभियानमा सरकार दृढ रहेको बताउँदै उनले अबको सरकारलाई असफल हुने छुट नरहेको स्पष्ट पारे ।