नेपालको परराष्ट्र नीति पार्टीगत स्वार्थभन्दा माथि उठ्नै सकेनः पूर्वमुख्यसचिव बैरागी

विज्ञापन
ncell

काठमाडौं । परराष्ट्र मामिलाका विज्ञ एवं पूर्वमुख्यसचिव शंकरदास बैरागीले नेपालको परराष्ट्र नीति पार्टीगत स्वार्थभन्दा माथि उठ्न नसकेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले दलहरुले परराष्ट्र नीतिलाई आफूअनुकुल प्रयोग गर्ने गरेको टिप्पणी समेत गरे । उनले सरकार परिवर्तन भएसँगै परराष्ट्र नीति परिवर्तन हुन नहुने भन्दै राष्ट्रिय हित र राष्ट्रिय स्वार्थमा आधारित परराष्ट्र नीति आवश्यक रहेको बताए । नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितसँग जोडिएका विषयमा मुलुकको सबैपक्षबीच साझा धारणा हुन आवश्यक रहेको उनको भनाइ छ । उनले छिमेकी तथा अन्य मित्रराष्ट्रको अहितमा नेपालको भूमि प्रयोग हुन नदिने कुरामा भविष्यमा समेत राज्य गम्भीर हुनुपर्ने बताए ।

उनले भौगोलिक तथा रणनीतिक संवेदनशीलताका कारण नेपालले सबै मुलुकसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाउनुपर्ने आवश्यक रहेको पनि बताए । उनले राष्ट्रिय एकता कमजोर भए त्यसको प्रत्यक्ष असर परराष्ट्र नीतिमा समेत पर्ने भन्दै राष्ट्रिय एकता खल्बिलिन नदिने कुरामा हामी सबै सचेत हुनुपर्ने समेत बताए । नेपालले ठूला राष्ट्रिय महत्वाकांक्षा राखे पनि त्यसलाई पूरा गर्ने सामथ्र्यको मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ ।

उनले नेपालसँग पर्याप्त राष्ट्रिय तथा सैन्य शक्ति नभएकाले असंलग्न दृष्टिकोण र विषयवस्तुको मेरिटका आधारमा निर्णय गर्ने परम्परालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले नेपालले लामो समयदेखि विश्वसामु बनाएको भरपर्दो छवि कायम राख्दै राष्ट्रिय हित, सार्वभौमसत्ता र राष्ट्रिय एकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति अघि बढाउन सरकारलाई आग्रह समेत गरे ।