काठमाडौंमा आज ५ स्थानबाट एलपी ग्यास बिक्री हुँदै, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाउनुपर्ने

विज्ञापन
ncell

काठमाडौं । एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले आज शनिबार काठमाडौंका विभिन्न स्थानबाट ग्यास सिलिण्डर बिक्री गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा टेकुस्थित निगम परिसर, चावहिलको यातायात कार्यालय परिसर, कीर्तिपुरको राधास्वामी परिसर, बसुन्धराको राधास्वामी परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट ग्यास बिक्री गरिने निगमले जनाएको छ।

यी बिक्री केन्द्रमा नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री हिमाल, एपी, श्रीमाया, श्रीकृष्ण, साइवावा, ओम, भानु, एसटीसी, लोकप्रिय, सूर्यलगायत विभिन्न ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।

निगमका अनुसार ग्यास अत्यावश्यक भएका उपभोक्ताले मात्र नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका केन्द्रमा गएर ग्यास खरिद गर्न सक्नेछन्।

निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र उद्योगहरूले आफ्ना बिक्रेतामार्फत पनि नियमित बिक्री गरिरहेको स्पष्ट पारेको छ। त्यसैले अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई मात्र वैकल्पिक बिक्री केन्द्रबाट ग्यास खरिद गर्न आग्रह गरिएको छ।