भोलि काठमाडौंका ७ स्थानबाट एलपी ग्यास बिक्री गरिने
निगमका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सकिनेछ ।
काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा निगमले भोलि २०८३ साउन ३१ गते आइतबार ग्यास उद्योगहरूबाट काठमाडौंका विभिन्न स्थानमा ब्राण्डअनुसार ग्यास सिलिण्डर बिक्री वितरण गर्ने जनाएको छ ।
निगमका अनुसार ग्यास बिक्री हुने स्थानमा टेकुस्थित निगमको परिसर, पशु सेवा शाखा चपली-बुढानीलकण्ठ, राधास्वामी-कीर्तिपुर परिसर, नयाँ बजारस्थित जुडो हल परिसर, तारकेश्वर नगरपालिकाको परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी रहेका छन् ।
विभिन्न बिक्री केन्द्रमा फरक-फरक ब्राण्डका ग्यास उपलब्ध गराइने निगमले जनाएको छ । टेकुमा नेपाल, एचपी, एमरेज, सुगम, श्रीराम र सगर ब्राण्डका ग्यास बिक्री हुनेछन् भने चपलीमा नेपाल, एचपी र भानु ब्राण्ड उपलब्ध हुनेछन् ।
त्यस्तै, राधास्वामी-कीर्तिपुरमा नेपाल, एचपी, एमरेजरसुगम, श्रीकृष्ण, साइवावा र श्रीमाया ब्राण्डका ग्यास बिक्री हुनेछन् । नयाँ बजार जुडो हल परिसरमा नेपाल, एचपी र ओम तथा तारकेश्वरमा नेपाल र एचपी ब्राण्डका ग्यास उपलब्ध हुने निगमले जनाएको छ ।
चन्द्रागिरी नगरपालिका कार्यालयमा लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीमा नेपाल, एचपी, सूर्य, सगर, एमरेजरसुगम र ब्राण्डका ग्यास बिक्री गरिनेछ ।
निगमले आयात नियमित रूपमा भइरहेको तथा सम्बन्धित ग्यास उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित रूपमा बिक्री वितरण गरिरहेको जनाएको छ । अत्यावश्यक अवस्थामा मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि निगमले उपभोक्तालाई आग्रह गरेको छ ।
ग्यास खरिद गर्न आउने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ । निगमका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सकिनेछ ।
ग्यास अभावका कारण उपभोक्तामा परेको समस्यालाई सहज बनाउन बिक्री वितरणको व्यवस्था गरिएको निगमले जनाएको छ । साथै, ग्यासको अनावश्यक भण्डारण तथा कालोबजारी हुन नदिन सम्बन्धित निकायले अनुगमनलाई समेत तीव्रता दिने जनाएको छ ।
