नेपालमै बनेको ‘यात्री पीटू’ हेर्न कारखानामा पुगेका अर्थमन्त्रीले भने ‘अघि बढ्नुस्, सरकार साथमा छ’
‘यात्री पीटू’को डिजाइन, गुणस्तर र प्रविधिलाई विश्वस्तरीय बनाउन जोड दिँदै उनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने रणनीति बनाउन सुझाव दिए ।
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटर ‘यात्री पीटू’लाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सरकारको साथ रहने बताएका छन् ।
काठमाडौंको बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर ‘यात्री पीटू’ निर्माण प्रक्रियाको अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले नेपाली इन्जिनियर तथा डिजाइनरको प्रयास प्रशंसनीय रहेको बताए । उनले नेपालमै डिजाइन भएर विद्युतीय दुईपांग्रे सवारी निर्माण हुनु देशका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।
‘यात्री पीटू’को डिजाइन, गुणस्तर र प्रविधिलाई विश्वस्तरीय बनाउन जोड दिँदै उनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने रणनीति बनाउन सुझाव दिए । नेपालमै सम्भव हुने डिजाइन, इन्जिनियरिङ र उत्पादनका कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । 'गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोस्, अघि बढ्नुहोस्। सरकार तपाईंहरूको साथमा छ,' अर्थमन्त्री वाग्लेले भने ।
उनले नेपाली उत्पादन विश्वका ठूला ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने गरी विकास हुनुपर्ने बताउँदै विदेशमा रहेका नेपालीमाझ समेत नेपाली ब्रान्डको आकर्षण बढाउनुपर्नेमा जोड दिए । नेपालमा बनेको स्कुटर विश्वका विभिन्न भूगोलमा प्रयोग हुन सक्ने विश्वास व्यक्त गर्दै उनले नेपाली प्रविधि र उद्यमशीलताको प्रवर्द्धन आवश्यक रहेको बताए ।
अवलोकनका क्रममा यात्रीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत असिम पाण्डेले अर्थमन्त्री वाग्लेलाई ‘यात्री पीटू’को डिजाइन, सुरक्षा परीक्षण, प्रयोग गरिएका पार्टपुर्जा तथा विभिन्न भूभागमा गरिएको परीक्षणबारे जानकारी गराएका थिए । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमै विद्युतीय स्कुटरको डिजाइन तथा उत्पादन गर्न सक्नु ऐतिहासिक उपलब्धि भएको बताए। नेपाली उत्पादनलाई बजारमा प्रतिस्पर्धी बनाउन विद्युतीय ब्याट्री, पार्टपुर्जा तथा कच्चा पदार्थमा सरकारले सहुलियतपूर्ण नीति ल्याउनुपर्ने उनको माग छ ।
कम्पनीका अनुसार नेपालको कठिन पहाडी तथा हिमाली भूभागमा समेत ‘यात्री पीटू’को सफल परीक्षण गरिएको छ । स्कुटरमा डीसी चार्जिङ प्रणाली प्रयोग गरिएको र यस्तो प्रविधिसहितको स्कुटर नेपालमै निर्माण हुनु विशेष उपलब्धि भएको कम्पनीको दाबी छ ।
‘यात्री पीटू’लाई केही दिनमै औपचारिक रूपमा सार्वजनिक गरी सर्वसाधारणका लागि बिक्री खुला गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।
नेदरल्याण्ड्सबाट इन्जिनियरिङ अध्ययन पूरा गरी नेपाल फर्किएका असिम पाण्डेले सन् २०१७ मा विद्युतीय मोटरसाइकल निर्माण गर्ने उद्देश्यले ‘यात्री मोटरसाइकल’ स्थापना गरेका थिए । सिप्रदी ट्रेडिङसँगको व्यावसायिक सहकार्यपछि कम्पनी अहिले ‘सिप्रदी यात्री’का रूपमा सञ्चालनमा छ ।
कम्पनीले नेपालमै आफ्नै डिजाइन र इन्जिनियरिङमा तयार पारेको ‘यात्री पीटू’को गुणस्तर परीक्षणसमेत भारतको सम्बन्धित दुईपांग्रे सवारी परीक्षण निकायबाट गराएको जनाएको छ ।
