'लोडसेडिङको अँध्यारो युग पार गर्दै नेपाल विद्युत निर्यात गर्ने मुलुक बन्यो'

विज्ञापन
ncell

उनले विद्युत प्रणालीको विस्तारसँगै सेवा गुणस्तर, विश्वसनीयता र आन्तरिक खपत बढाउन थप सुधार आवश्यक रहेको बताए ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नायब प्रबन्ध निर्देशक मदन तिम्सिनाले लोडसेडिङको अँध्यारो युग पार गर्दै नेपालले विद्युत उत्पादन, प्रसारण, वितरण र निर्यातमा उल्लेख्य उपलब्धि हासिल गरेको बताएका छन् । 

नेपाल विद्युत प्राधिकरणको ४१औँ वार्षिकोत्सबका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले हाल विद्युत प्रशारण ग्रिड करिव ९८ प्रतिशत जनसंख्यामा पुगेको बताए । प्रतिव्यक्ति विद्युत खपतसमेत अघिल्लो वर्षको तुलनामा बढेको उनले जानकारी दिए । उनले विद्युत प्रणालीको विस्तारसँगै सेवा गुणस्तर, विश्वसनीयता र आन्तरिक खपत बढाउन थप सुधार आवश्यक रहेको बताए । उनकाअनुसार प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा नेपालमा विद्युत उत्पादन क्षमता ४ हजार १२० मेगावाट पुगेको छ ।

त्यस्तै, निजी क्षेत्रसँग १२ हजार १३५ मेगावाट क्षमताको विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको उनले जानकारी दिए । उत्पादन बढ्दै जाँदा विद्युत खेर जान नदिन आन्तरिक खपत वृद्धि र अन्तरदेशीय विद्युत व्यापारलाई समेत प्राथमिकता दिएको उनले बताए । भारत र बंगलादेशतर्फ विद्युत निर्यात गर्दै प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको उनले जानकारी दिए ।

उनले प्राधिकरणको आगामी प्राथमिकता उत्पादन विस्तारसँगै विद्युत प्रणालीलाई थप विश्वसनीय र आधुनिक बनाउनु रहेको बताए । जलाशय, सौर्य तथा अर्धजलाशययुक्त आयोजनाको प्रवर्धन, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता, उत्पादन-प्रशारण-वितरण प्रणालीको आधुनिकीकरण र चुहावट नियन्त्रणलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । उनले हालको उपलब्धिमा सन्तुष्ट भएर बस्ने अवस्था नरहेको पनि बताए । उनका अनुसार देशभित्रै विद्युत खपत बढाएर आर्थिक तथा सामाजिक मूल्य सिर्जना गर्ने, विद्युत चुहावट थप घटाउने र हरित ऊर्जाको युगमा नेपाललाई अग्रणी मुलुक बनाउनेतिर लाग्नुपर्ने बताए ।