नेपालगञ्ज-पोखरा उडान भदौ ३१ देखि पुनः सुरु हुँदै

विज्ञापन
ncell

बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार पछिल्लो समय पोखरा जाने यात्रु तथा भारतको उत्तर प्रदेशबाट आउने धार्मिक पर्यटकको चहलपहल बढेकाले सेवा पुनः सुरु गर्न लागिएको हो ।

काठमाडौं । नेपालगञ्ज-पोखरा नियमित हवाई सेवा आगामी भदौ ३१ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ। बुद्ध एयरले यात्रुको माग बढेपछि केही समयदेखि स्थगित रहेको यो रुटमा फेरि उडान थाल्ने तयारी गरेको हो ।

बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार पछिल्लो समय पोखरा जाने यात्रु तथा भारतको उत्तर प्रदेशबाट आउने धार्मिक पर्यटकको चहलपहल बढेकाले सेवा पुनः सुरु गर्न लागिएको हो । यसअघि यात्रुको कमी र सञ्चालन खर्च बढेपछि गत जेठ ५ गतेदेखि उडान रोकिएको थियो ।

पुनः सञ्चालन हुने उडान सातामा तीन दिन हुने बताइएको छ। बुद्ध एयरका अनुसार आइतबार, बुधबार र शुक्रबार नेपालगञ्ज-पोखरा उडान हुनेछ र टिकट बुकिङसमेत खुला गरिएको छ । उडान पुनः सुरु हुने खबरसँगै बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन् । पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यो सेवाले पश्चिम नेपालका साथै भारतका पर्यटकलाई पोखरासँग प्रत्यक्ष जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनका अनुसार हवाई सेवा नियमित भएपछि पोखरा, मुस्ताङलगायतका पर्यटकीय गन्तव्यमा पुग्ने पश्चिम नेपालका यात्रुलाई सहज हुनेछ । त्यस्तै पोखरा क्षेत्रबाट नेपालगञ्ज हुँदै बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थल भ्रमण गर्न चाहने पर्यटकलाई पनि सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय पर्यटन व्यवसायीको पहलपछि नेपालगञ्ज-पोखरा उडान पहिलोपटक २०७८ साल साउन १७ गतेदेखि सातामा तीन दिन सञ्चालनमा आएको थियो। सेवा पुनः सुरु भएपछि पश्चिम नेपाल र पोखराबीचको पर्यटन तथा यात्रु आवागमन थप चलायमान हुने व्यवसायीहरूको विश्वास छ ।