विद्युतमा लगाएको कर फिर्ता गराउन कुलमानको पार्टीले विदेशबाट हस्ताक्षर संकलन गर्दै
जोरपाटीमा शुक्रबार अभियानको औपचारिक सुरुवात गर्दै घिसिङले अभियान नेपालभित्र मात्र सीमित नरहेको बताए। उनका अनुसार विदेशमा रहेका नेपालीहरूले समेत विभिन्न मुलुकमा हस्ताक्षर सङ्कलन अभियान अघि बढाइरहेका छन् ।
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युतमा सरकारले लगाएको कर फिर्ता गराउन दबाब दिने उद्देश्यले देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरिएको बताएका छन् ।
जोरपाटीमा शुक्रबार अभियानको औपचारिक सुरुवात गर्दै घिसिङले अभियान नेपालभित्र मात्र सीमित नरहेको बताए। उनका अनुसार विदेशमा रहेका नेपालीहरूले समेत विभिन्न मुलुकमा हस्ताक्षर सङ्कलन अभियान अघि बढाइरहेका छन् ।
घिसिङले विद्युतमा कर लगाउने सरकारको निर्णयविरुद्ध आफूहरूले यसअघि पटक-पटक आवाज उठाउँदै आए पनि त्यसको सुनुवाइ नभएपछि जनताको प्रत्यक्ष सहभागितामा अभियान अघि बढाउनुपरेको बताए ।
उनका अनुसार सरकारलाई निर्णय पुनर्विचार गर्न दबाब दिने र विद्युतमा लगाइएको भ्याट फिर्ता गराउन जनमत निर्माण गर्ने अभियानको प्रमुख उद्देश्य हो । ‘सरकारलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि विषय सम्बोधन नभएपछि जनताको अभिमत बुझ्न सडकबाटै अभियान सुरु गरेका हौँ,’ घिसिङले भने ।
उनले संसद्मा रहेका राजनीतिक दलहरूले समेत विद्युतमा लगाइएको करको विषयलाई पर्याप्त प्राथमिकताका साथ नउठाएको आरोप लगाए । अभियानमार्फत संकलित हस्ताक्षरले सरकारमाथि निर्णय फिर्ताका लागि आवश्यक जनदबाब सिर्जना गर्ने उनको विश्वास छ ।
घिसिङले अभियान देशका विभिन्न स्थानमा विस्तार हुँदै जाने र विदेशमा रहेका नेपालीबाट समेत हस्ताक्षर संकलनलाई निरन्तरता दिइने जानकारी दिए ।
