दुबई पुग्यो डीडीसीको ६ सय किलो घिउ, अन्य मध्यपूर्वी देशमा पनि निर्यातको तयारी

विज्ञापन
ncell

नेपाली घिउको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्यसहित अहिले परीक्षणका रूपमा दुबई पठाइएको हो । त्यहाँ रहेका स्थानीय वितरकहरूमार्फत यो घिउलाई बजारमा पुर्‍याइनेछ ।

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो उत्पादन ‘डीडीसी घिउ’ मध्यपूर्वका देशहरूमा निर्यात गर्न सुरु गरेको छ । पहिलो चरणमा शुक्रबार दुबई (यूएई)का लागि ६ सय किलो घिउ निर्यात गरिएको हो । डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी ‘रातो र चन्द्र सूर्य इन्टरनेसनल प्राइभेट लिमिटेड’ सँग व्यावसायिक सम्झौता गरेको छ ।

नेपाली घिउको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने लक्ष्यसहित अहिले परीक्षणका रूपमा दुबई पठाइएको हो । त्यहाँ रहेका स्थानीय वितरकहरूमार्फत यो घिउलाई बजारमा पुर्‍याइनेछ । दुबईमा सफल परीक्षण भएपछि यसलाई अन्य मध्यपूर्वी देशहरूमा पनि विस्तार गरिने र डीडीसीका अन्य दुग्धजन्य उत्पादनहरूलाई पनि विस्तारै बजारमा लैजाने योजना बनाइएको छ । 

नेपाली उत्पादनको प्रचारका लागि पहिलोपटक जहाजमा पठाइएपनि पछि भारत हुँदै कन्टेनरमा पठाउने तयारी छ । दुबईबाहेक मध्यपूर्वका अन्य देशमा पनि डीडीसी घ्यूसहित अन्य उत्पादन छिट्टै निर्यात तथा बिक्री हुने कम्पनीले जनाएको छ । नेपालमा हाल डीडीसीको घिउ बट्टामा प्रतिलिटर १३०० रुपैयाँ र पाउचमा प्रतिलिटर १२५० रुपैयाँमा बिक्री भइरहेको छ । दुबईमा हुने बिक्री मूल्य भने त्यहाँको ढुवानी खर्च र अन्य करहरूका आधारमा निर्धारण गरिनेछ ।

गत आर्थिक वर्ष ४ करोड ३३ लाख ४४ हजार रुपैयाँको ३९ हजार ८५९ किलो घिउ निर्यात भएको थियो । सबैभन्दा बढी जापानमा ४ करोड ३२ लाख ७५ हजार रूपैयाँको, भारतमा ५१ हजार, नेदरल्यान्ड्समा १६ हजार र बेलायतमा १ हजार रुपैयाँको घिउ निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

डीडीसी प्रत्यक्ष रूपमा देशभरका हजारौँ किसानहरूसँग जोडिएको संस्था भएकाले यसको निर्यात विस्तारले ग्रामीण क्षेत्रका दुग्ध उत्पादक किसानहरूलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास लिइएको छ ।