राजापुरमा ७० करोड लगानीमा मदिरा उद्योग स्थापना हुँदै
उद्योगका प्रवद्र्धक तथा अध्यक्ष यज्ञबहादुर ओली हुन् । ओलीसँग सम्बन्धित देउती गुट्खा, देउती प्याकेजिङ, देउती सोप एन्ड केमिकल्स, राजापुर सुगर एन्ड केमिकल्स तथा देउती रियल इस्टेटलगायतका व्यवसाय सञ्चालनमा छन् ।
काठमाडौं । हिमालयन लिक्विर्स प्राइभेट लिमिटेडले बर्दियाको राजापुरमा ७० करोड रुपैयाँ लगानीमा मदिरा उद्योग स्थापना गर्ने भएको छ । उद्योगबाट वार्षिक १ करोड लिटर मिश्रित मदिरा र १० हजार किलोलिटर स्पिरिट उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
परियोजनामा ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजी लगानी प्रस्ताव गरिएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५६ करोड रुपैयाँ ऋण जुटाउने तयारी गरेको छ । जुलाई २०२६ सम्म जग्गा प्राप्तिको काम अघि बढेको र परियोजनाको वित्तीय प्रगति करिब ६ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।
उद्योगका प्रवद्र्धक तथा अध्यक्ष यज्ञबहादुर ओली हुन् । ओलीसँग सम्बन्धित देउती गुट्खा, देउती प्याकेजिङ, देउती सोप एन्ड केमिकल्स, राजापुर सुगर एन्ड केमिकल्स तथा देउती रियल इस्टेटलगायतका व्यवसाय सञ्चालनमा छन् ।
उद्योगमा उखुको मोलासेस, स्पिरिट तथा चामल, मकै र गहुँजस्ता कच्चा पदार्थ प्रयोग गरिनेछ । राजापुर सुगर एन्ड केमिकल्सबाट मोलासेस उपलब्ध हुने भएकाले कच्चा पदार्थ आपूर्तिमा सहजता हुने कम्पनीको अपेक्षा छ ।
राजापुरको भौगोलिक अवस्थिति र भारतीय बजारको पहुँचले कच्चा पदार्थ तथा ढुवानी व्यवस्थापनमा सहयोग पुग्ने कम्पनीको दाबी छ । उद्योग सञ्चालनमा आएपछि स्थानीय रोजगारी सिर्जना तथा क्षेत्रको औद्योगिक विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
