काठमाडौँमा निजी होस्टल सञ्चालनका लागि २१ मापदण्ड अनिवार्य, व्यवस्थापन सुधार्न एक महिनाको अल्टिमेटम

विज्ञापन
ncell

कार्यालयका अनुसार छात्रावासमा विद्यार्थीलाई मानवीय व्यवहार नगर्ने, यातना दिने, तोकिएको शुल्कभन्दा बढी रकम लिने, कमजोर पूर्वाधार राख्ने तथा सरसफाइमा ध्यान नदिने गुनासो बारम्बार प्राप्त हुँदै आएको छ ।

काठमाडौँ । काठमाडौँ जिल्लाभित्र निजी रूपमा सञ्चालन भइरहेका छात्रावास (होस्टल) मा विद्यार्थीमाथि दुर्व्यवहार, बढी शुल्क असुली, कमजोर पूर्वाधार तथा सरसफाइ र खानपानमा लापरवाही भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सञ्चालकलाई एक महिनाभित्र आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ । कार्यालयका अनुसार छात्रावासमा विद्यार्थीलाई मानवीय व्यवहार नगर्ने, यातना दिने, तोकिएको शुल्कभन्दा बढी रकम लिने, कमजोर पूर्वाधार राख्ने तथा सरसफाइमा ध्यान नदिने गुनासो बारम्बार प्राप्त हुँदै आएको छ । खाना र पानीको स्वच्छता, पुरुष तथा महिलाका लागि छुट्टाछुट्टै सुरक्षा, शौचालय, स्नानघर र सुत्ने कोठाको पर्याप्त व्यवस्था नभएको पनि पाइएको कार्यालयले जनाएको छ । त्यस्तै, केही छात्रावासमा लागुऔषधको दुरुपयोग हुने, विद्यार्थीबीच झडप हुँदा ज्यान जानेसम्मका घटना हुने तथा अध्ययन कक्ष, मनोरञ्जन कक्ष र पुस्तकालयजस्ता आवश्यक सुविधा पर्याप्त नभएको गुनासो आउने गरेको छ । यस्ता गुनासोका आधारमा कार्यालयले निजी छात्रावासको नियमित तथा आकस्मिक अनुगमन गर्दै आएको जनाएको छ। अनुगमनका क्रममा केही छात्रावासलाई तीन लाख रुपैयाँसम्म जरिवाना गर्नुका साथै शिलबन्दीसमेत गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले जिल्लाभित्र सञ्चालनमा रहेका सबै निजी छात्रावास सञ्चालकलाई तोकिएका २१ मापदण्डअनुसार आवश्यक व्यवस्था एक महिनाभित्र पूरा गर्न सूचित गरेको छ ।

प्रशासनले तोकेका २१ मापदण्ड:

१- छात्रावास सञ्चालन सम्बन्धमा नेपाल सरकार एवं सम्बन्धित स्थानीय तहले जारी गरेका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्नुपर्ने ।

२- छात्रावासमा बस्ने विद्यार्थी एवं व्यक्तिहरुलाई मानवीय व्यवहार गर्ने, सुरक्षा एवं मर्यादापूर्ण रुपमा रहने वातावरण तयार गर्ने ।

३- छात्रावास भित्रको आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउने कुनै प्रकारको लागु औषध एवं मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा बन्देज लगाउनुपर्ने ।

४- तोकिएको निकायहरुमा छात्रावास अनिवार्य रुपमा दर्ता एवं नवीकरण गर्नुपर्ने ।

५- छात्रावासको लागि उचित भौतिक पूर्वाधार ९जस्तैः प्रत्येक कोठाहरु फराकिलो खुला पर्याप्त प्रकाश तथा हावा छिर्ने प्रकृतिको० हुनुपर्ने ।

६- व्यवस्थित पुस्तकालय एवं अध्ययन कक्षको प्रबन्ध गर्नुपर्ने ।

७- छात्रावासको सरसफाइ र खाद्यान्नको गुणस्तर कायम गर्नुपर्ने ।

८- छात्रावासमा स्वच्छ पिउने एवम् अन्य प्रयोजनको पानीको पर्याप्तता, विद्युत तथा ईन्टरनेटको उपलब्धता एवम् बैकल्पिक व्यवस्था समेत गरेको हुनुपर्ने ।

९- छात्रावासमा लाग्ने शुल्क तथा दररेट सार्वजनिक गरी सोही अनुसार मात्र रकम लिनुपर्ने ।

१०- कोठा र शौचालय जस्ता संवेदनशील स्थान बाहेक अन्य स्थानको निगरानीको लागि CCTV जडान गर्नुपर्ने ।

११- छात्रावास सञ्चालक तथा छात्रावासमा बस्ने विद्यार्थी एवं व्यक्तिहरुको अद्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने ।

१२- छात्रावासमा बस्ने विद्यार्थी एवम् अन्य व्यक्तिहरुले समेत मर्यादित र अनुशाससित व्यवहार गर्नुपर्ने ।

१३- छात्रावास रहेको स्थान वरपरका छरछिमेकीहरुलाई छात्रावासको कारणबाट कुनै प्रकारको वाधा, व्यवधान एवम् होहल्ला गर्न नदिने व्यवस्था मिलाउनुपर्ने ।

१४- छात्रावासमा चौविसै घण्टा जिम्मेवार वार्डेन र निजी सुरक्षाकर्मीको व्यवस्था हुनुपर्ने ।

१५- छात्रावासमा बस्ने विद्यार्थी र सञ्चालकको बीचमा अनिवार्य सम्झौता हुनुपर्ने ।

१६-अन्य व्यक्तिको घर भाडामा लिई सञ्चालन गरेको भएमा छात्रावास सञ्चालकहरुले घरधनीसँग अनिवार्य रुपमा घरभाडा सम्झौता गरेको हुनुपर्ने ।

१७- छात्रावासको सञ्चालक र वार्डेनको व्यक्तिगत विवरण अनिवार्य रुपमा यस कार्यालय र नजिकको प्रहरी ईकाईलाई उपलब्ध गराउनुपर्ने ।

१८-छात्रावासमा  Fire Extinguisher, First Aid लगायतका अत्यावश्यकीय सामग्रीहरु अनिवार्य रुपमा राखुपर्ने ।

१९-महिला तथा पुरुष दुवैको लागि सञ्चालनमा रहेको छात्रावास भए अलग्गै कार्यालय र आवास भवनको व्यवस्था अनिवार्य गर्नुपर्ने ।

२०- छात्रावासमा आपत्कालिन अवस्थामा सम्पर्क गर्नुपर्ने सरकारी निकायका फोन नं। हरु सबैले देखिने गरी राखेको हुनुपर्ने ।

२१- छात्रावासमा रहने विद्यार्थी एवम् अन्य व्यक्तिहरुलाई समय समयमा मनोरञ्जन एवम् छात्रावासको मर्यादा र अनुशासन कायम राख्न तद् अनुरुपको प्रशिक्षण कक्ष हुनुपर्ने र सो बमोजिम हप्तामा कम्तिमा एकपटक प्रशिक्षण समेत गर्ने र गराउने ।