कागजमा राम्रा आर्थिक नीति, कार्यान्वयनमा कर्मचारीतन्त्र बाधक : चेम्बर अध्यक्ष अग्रवाल

विज्ञापन
ncell

अध्यक्ष अग्रवालले लगानीको वातावरणमा सुधार नआए स्वदेशी पुँजीसमेत पलायन हुनसक्ने चेतावनी दिए ।

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको आर्थिक नीतिहरू कागजमा राम्रो भएपनि कार्यान्वयनको तहमा पुग्दा कर्मचारीतन्त्रका कारण जटिल बन्ने गरेको बताएका छन् । 

आईतबार नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच आयोजित समझदारी पत्र (एमओयू) हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले सो कुरा बताएका हुन् । अध्यक्ष अग्रवालले नेपालमा प्राकृतिक स्रोत र सम्भावना प्रचुर भएपनि सही आर्थिक नीतिको कार्यान्वयन हुन नसक्दा मुलुकले अपेक्षित गति लिन नसकेको उल्लेख गरे । कानूनी सुधारका नाममा हुने ढिलासुस्ती र प्रशासनिक झमेलाप्रति लक्षित गर्दै उनले संसदबाट पारित भएका कानुनहरूलाई कर्मचारीतन्त्रले नियमावली र कार्यविधिको नाममा उल्ट्याउने गरेको आरोप लगाए । चेम्बर र एनआरएनएबीच भएको समझदारीका विषयमा चर्चा गर्दै उनले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनालाई आत्मसात गर्दै विश्वभर छरिएर रहेका नेपालीहरूको पुँजी, ज्ञान, सीप र प्रविधिलाई मुलुकको विकाससँग जोड्नुपर्नेमा जोड दिए ।

अध्यक्ष अग्रवालले लगानीको वातावरणमा सुधार नआए स्वदेशी पुँजीसमेत पलायन हुनसक्ने चेतावनी दिए । दुवै संस्थाले नेपालको आर्थिक विकासका लागि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।