नागढुङ्गा सुरुङमार्ग निजी सवारीका लागि खुला, परीक्षण अवधिमा शुल्क नलाग्ने

विज्ञापन
ncell

आजका लागि परीक्षणस्वरूप एकतर्फी सञ्चालनमा आएको सुरुङमार्ग भोलिदेखि भने दुईतर्फी नै सञ्चालनमा आउनेछ ।

काठमाडौं । उद्घाटन भएको एक महिनापछि नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि खुला गरिएको छ । ९ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानलगायत निजी सवारीलाई सोमबारदेखि सुरुङ प्रयोग गरेर आउजाउ गर्न खुला गरिएको हो ।

सुरुङमार्ग परीक्षणका रूपमा खुला गरिएको हो । आजका लागि परीक्षणस्वरूप एकतर्फी सञ्चालनमा आएको सुरुङमार्ग भोलिदेखि भने दुईतर्फी नै सञ्चालनमा आउनेछ । उद्घाटनको समयदेखि हालसम्म आपतकालीन सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइएकोमा अब भने निजी सवारी साधनले पनि प्रयोग गर्न पाउनेछन् ।

सुरुङ मार्ग सुरक्षा युनिटका अनुसार निश्चित समयका लागि मात्र निजी सवारी साधनलाई सुरुङ मार्गमा प्रवेश दिइएको हो । परीक्षण अवधिभर कुनै शुल्क लाग्ने छैन । सोमबार बिहानैदेखि गुर्जुधारास्थित फ्लाइओभरको बाटो पनि सञ्चालनमा ल्याइएको छ ।

सुरुङभित्र सवारी चलाउन निश्चित नियम पालना गर्नुपर्नेछ । सवारीको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ। यस्तै, अनिवार्य रूपमा हेडलाइट बाल्नुपर्ने, टनेलभित्र गाडी रोक्न वा ओभरटेक गर्न नपाइने नियम बनाइएको छ । पैदलयात्री, दुईपाङ्गे्र सवारी र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई भने सुरुङ प्रवेशमा रोक लगाइएको छ । सुरुङको नियमित सञ्चालनका लागि सुरक्षा र शुल्क संकलन युनिटको व्यवस्थापनका साथै सीसीटीभीमार्फत आन्तरिक निगरानी भइरहेको छ ।