निजी क्षेत्रलाई विश्वासमा लिएर पूर्वाधार विकास गर्नुपर्छ, कर्मचारीतन्त्र अझै निजी क्षेत्रमैत्री छैनः चेम्बर अध्यक्ष अग्रवाल

विज्ञापन
ncell

उनले अधुरा आयोजना तत्काल सम्पन्न गर्न, परियोजना तयारी पूरा भएपछि मात्रै बजेटमा आयोजना समावेश गर्न तथा आयोजना कार्यान्वयनमा समय, लागत र गुणस्तरको कडा अनुशासन कायम गर्न सुझाव दिए ।

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकको पूर्वाधार विकास र आर्थिक वृद्धि गर्न सकिने बताएका छन् । सोमबार बसेको पूर्वाधार विकास समितिको बैठकमा भएको पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी सम्बन्धी छलफलमा उनले पूर्वाधारको विकासको लागी निजी क्षेत्रलाई ड्राइभिङ सिटमा राखेर सरकार अघि बढ्नुपर्ने बताएका हुन् । उनले सरकारको पुँजीगत खर्चलाई पूर्वाधार विकास र आर्थिक गतिविधि विस्तारसँग जोड्नुपर्ने बताए ।

सरकारले गर्ने पुँजीगत खर्च अनुसार मुलुकको आर्थिक गतिविधि चलायमान हुने उनको भनाई छ । उनले अधुरा आयोजना तत्काल सम्पन्न गर्न, परियोजना तयारी पूरा भएपछि मात्रै बजेटमा आयोजना समावेश गर्न तथा आयोजना कार्यान्वयनमा समय, लागत र गुणस्तरको कडा अनुशासन कायम गर्न सुझाव दिए । दक्षतामा आधारित ठेकेदार छनोट, बहुवर्षीय आयोजनाका लागि सुरुमै स्रोत सुनिश्चितता तथा सार्वजनिक-निजी साझेदारी (पीपीपी)मार्फत पुँजी परिचालनलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ । उनले पूर्वाधार विकासलाई उत्पादन, निर्यात र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिए । मेलम्ची खानेपानी आयोजना उदाहरण दिँदै उनले निजी क्षेत्रसँग सहकार्यको सम्भावना हुँदाहुँदै आयोजना सरकारी नियन्त्रणमा लगिँदा लागत र समय दुवै बढेको दाबी गरे । अध्यक्ष अग्रवालले लगानीमैत्री कानुनको अभावमा निजी क्षेत्रले लगानी बढाउन नसकेको बताउदै लगानीसम्बन्धी कानुन बनेपनि नियमावली र कार्यविधि अत्याधिक झन्झटिलो हुने बताए । राम्रो वातावरण बनाइदिए लगानी आफैँ आउने उनको भनाई छ । उनले विदेशी लगानी आकर्षित गर्न सहज प्रवेश, सहज बहिर्गमन र नाफा सहज रूपमा स्वदेश फिर्ता लैजान सक्ने व्यवस्था गर्न आवश्यक रहेको बताए । विदेशी लगानीकर्ताका लागि मुद्रा विनिमय जोखिम न्युनिकरण गर्न हेजिङ सुविधा प्रभावकारी रूपमा उपलब्ध गराउनुपर्ने उनको भनाई छ । नेपालमा विदेशी मुद्रा सञ्चिति उच्च रहेपनि विदेशी लगानी आकर्षित गर्न आवश्यक संरचना निर्माण हुन नसकेको उनले बताए। लगानीकर्ताका लागि प्रतिबद्धता गरिएको ‘वान विन्डो’ प्रणाली पनि प्रभावकारी हुन नसकेको उनको भनाई छ । उनले बनेका नीति पनि कार्यन्वयन हुन नसकेको बताए । निजी क्षेत्रसँग पूर्ण विश्वास र सहकार्यका साथ अघि बढेमा मात्रै मुलुकको आर्थिक विकासले गति लिने उनको भनाई छ ।

उनले सरकारी संयन्त्रको तल्लो तहसम्मका कर्मचारीहरु निजी क्षेत्रप्रति असहयोगी बनेको आरोप लगाए । निजी क्षेत्रमैत्री प्रशासनिक संस्कार विकास नगरी आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नसकिने उनको भनाई छ । सरकारले अघि सारेको औसत ७ प्रतिशत आर्थिक वृद्धिदर, १०० खर्ब रुपैयाँको अर्थतन्त्र र प्रतिव्यक्ति ३ हजार अमेरिकी डलर आयको लक्ष्य हासिल गर्न सकिने भएपनि त्यसका लागि नीति, नियत र कार्यान्वयन तीनै पक्ष बलियो हुनुपर्ने उनले बताए ।