साल्ट ट्रेडिङको दैनिक उपभोग्य वस्तुको आपूर्तिमा मात्र सिमित छैनः अध्यक्ष श्रेष्ठ

विज्ञापन
ncell

उनले संस्था दैनिक उपभोग्य वस्तुको आपूर्तिमा मात्र सिमित नरही कृषि, उद्योग र निर्माण क्षेत्रको विकासमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन निरन्तर क्रियाशील रहेको बताए ।

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठले मुलुकको जनस्वास्थ्य रक्षा र आपूर्ति व्यवस्थापनमा संस्थाले उल्लेख्य योगदान पुर्‍याउँदै आएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान (२०८१/२०८२)’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो धारणा व्यक्त गरेका हुन् । सम्बोधनका क्रममा अध्यक्ष श्रेष्ठले नेपाल सरकारले तोकेको मापदण्डअनुसार आयोडिनयुक्त नुन आपूर्ति गरी नागरिकको मानसिक एवं शारीरिक स्वास्थ्य समस्या न्यूनीकरणमा साल्ट ट्रेडिङले जिम्मेवार भुमिका निर्वाह गरेको उल्लेख गरे । उनले संस्था दैनिक उपभोग्य वस्तुको आपूर्तिमा मात्र सिमित नरही कृषि, उद्योग र निर्माण क्षेत्रको विकासमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन निरन्तर क्रियाशील रहेको बताए । 

कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै साल्ट ट्रेडिङले रासायनिक मलका साथै आफ्नै पहलमा गैर-रासायनिक मलसमेत आयात गरी किसानलाई उपलब्ध गराउँदै आएको उनले जानकारी दिए । हाल संस्थाले नुन, चिनी, मैदा, पिठो, चामल, दाल र खाने तेलका अतिरिक्त खाना पकाउने ग्यास एवं छापाखानाका लागि आवश्यक कागजसमेत विक्री वितरण गर्दै आएको छ । 

उपभोक्ताको हितलाई ध्यानमा राख्दै राष्ट्रिय चाडपर्वका अवसरमा सञ्चालन गरिने सहुलियत मूल्य पसललाई आगामी दिनमा पनि निरन्तरता दिइने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे । साथै, देशमा आइपर्ने प्राकृतिक प्रकोप तथा विभिन्न विपत्तिका समयमा अत्यावश्यक वस्तुहरूको नियमित आपूर्ति सुनिश्चित गर्न संस्थाले खेल्दै आएको भुमिका आगामी दिनमा अझ प्रभावकारी बनाइने उनको भनाइ छ ।