काठमाडौंमा कृषि र वनमा आधारित उत्पादनको प्रदर्शनी
प्रदर्शनीमा महिला उद्यमीहरुले मह, जडिबुडी, कफी, चिया, कपडा लगायतका उत्पादन राखेका छन् । प्रदर्शनीसँगै आध्यान्ताले वन तथा कृषिमा आधारित उद्यमलाई निजी क्षेत्रसंगको साझेदारीमा विस्तार तथा स्तरोन्नति गर्ने सम्बन्धी सरोकारवालासँग छलफल समेत आयोजना गरेको थियो ।
काठमाडौं । महिला उद्यमीहरुले उत्पादन गरेको कृषि र वनमा आधारित उत्पादनको प्रदर्शनी आयोजना गरिएको छ । आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले मंगलबार काठमाडौंको होटल र्याडिसनमा महिला उद्यमीहरुको उत्पादनलाई प्रर्दशन गरेको हो । प्रदर्शनीमा महिला उद्यमीहरुले मह, जडिबुडी, कफी, चिया, कपडा लगायतका उत्पादन राखेका छन् । प्रदर्शनीसँगै आध्यान्ताले वन तथा कृषिमा आधारित उद्यमलाई निजी क्षेत्रसंगको साझेदारीमा विस्तार तथा स्तरोन्नति गर्ने सम्बन्धी सरोकारवालासँग छलफल समेत आयोजना गरेको थियो ।
छलफलमा निजी क्षेत्र, सरोकारवाला लगायतको सहभागीता रहेको थियो । आध्यान्ता फण्ड म्यानेजमेण्ट लिमिटेडले किसानलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको कम्पनीका संस्थापक तथा अध्यक्ष मनोज पौडेलले जानकारी दिए । आध्यान्तले सम्भावना बोकेका कृषि तथा अन्य उद्यममा लगानी गर्ने र तिनलाई लगानीयोग्य तथा विस्तारयोग्य बनाउन काम गरिरहेको पौडेलको भनाई छ । हाल किसान र उपभोक्ताबीच देखिएको मूल्य श्रृंखलाको अन्तर समाधान गर्न पनि आफूहरुले पहल गरिरहेको उनले जानकारी दिए । यद्यपी आफूहरुको पहले मात्रै नहुने हुँदा राज्यले पूर्वाधार, उद्यम र प्रविधिमा लगानी गर्न आवश्यक रहेको उनको भनाई छ । पौडेलका अनुसार किसानले खेतमै उत्पादन विक्री गर्दा पाउने मूल्य र काठमाडौंलगायतका बजारमा उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ । पूर्वाधारमा रहेको लगानी अक्षमताका कारण मुल्यमा ठुलो अन्तर परेको उनको भनाई छ । कोल्ड स्टोरेज, वेयरहाउस, प्रशोधन तथा बजार व्यवस्थापनजस्ता पूर्वाधारमा लगानी बढाउन सकेमा किसानले उचित मूल्य पाउने र उपभोक्ताले पनि तुलनात्मक रूपमा उचित मूल्यमा वस्तु पाउने अवस्था बनाउन सकिने उनको भनाई छ ।
दूध, चिया, अदुवा लगायतका कृषि उत्पादनले बजार नपाउने समस्या समाधान गर्न उत्पादनसँगै प्रशोधन र बजारसँग जोडिने उद्यमको विकास आवश्यक रहेको उनले बताए । आध्यान्तले यस्ता उद्यममा लगानी गरी किसानलाई जोड्ने र क्षेत्रगत रूपमा कृषि मूल्य श्रृंखला बलियो बनाउने रणनीति लिएको उनको भनाई छ । उनले लगानीकर्ताबाट छरिएर रहेको पुँजी एकत्रित गरि कम्पनीले सम्भावना बोकेका उद्यममा लगानी गर्ने गरेको उनले जानकारी दिए । उनले सानो पुँजी भएका धेरै किसानलाई वित्तीय प्रणालीसँग जोड्न प्रविधिको प्रयोग पनि आवश्यक रहेको बताए । उनकाअनुसार आध्यान्तले दुई वर्षअघि ‘खेती’ नामक एग्रिटेक कम्पनीमा लगानी गरेको थियो । उक्त डिजिटल एपमार्फत किसानले कृषि सामग्री खरिदका लागि बैंक ऋणमा आवेदन दिन सक्ने र ठूलो संख्यामा किसानलाई एउटै प्लेटफर्ममा जोड्ने काम भइरहेको छ ।
