विदेशी लगानी भित्र्याउन लगानी सम्मेलनभन्दा नीतिगत सुधार र पुँजी बजारको सुदृढीकरण आवश्यकः अर्थशास्त्री अर्याल

विज्ञापन
ncell

नेपालमा समय-समयमा आयोजना गरिने लगानी सम्मेलनको प्रभावकारितामाथि प्रश्न उठाउँदै अर्यालले वाह्य लगानी भित्र्याउन केवल सम्मेलन मात्र पर्याप्त नहुने तर्क गरे ।

काठमाडौं । लगानी बैंकर तथा वित्तीय अर्थविद् मुक्ति अर्यालले नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन र आर्थिक समृद्धिका लागि पुँजी बजारको सुदृढीकरण तथा नीतिगत सुधार अपरिहार्य रहेको बताएका छन् ।  नेपाली काँग्रेसद्वारा आयोजित ‘नेपालको पुँजी बजारः आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा बोल्दै अर्यालले पुँजी बजारलाई स्रोत परिचालन र पुँजी लगानीको सबैभन्दा भरपर्दो माध्यमका रूपमा चित्रण गरेका हुन् ।

उनले कुनैपनि व्यवसाय विस्तारका क्रममा व्यक्तिगत स्रोत, पारिवारिक ऋण र बैंक कर्जाले मात्र नपुग्ने अवस्थामा पुँजी बजार नै अन्तिम र प्रभावकारी विकल्प हुने उल्लेख गरे । अर्यालले पुँजी बजार केवल शेयर खरिद-विक्रीमा मात्र सिमित नभई यो एक वृहत संयन्त्र भएको बताए । नेपालमा समय-समयमा आयोजना गरिने लगानी सम्मेलनको प्रभावकारितामाथि प्रश्न उठाउँदै अर्यालले वाह्य लगानी भित्र्याउन केवल सम्मेलन मात्र पर्याप्त नहुने तर्क गरे ।

हाल नेपालमा वार्षिक औसत १२ अर्ब रुपैयाँ बराबरको मात्र एफडीआई भित्रिएको बताए । अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको मनोभावना उल्लेख गर्दै अर्यालले नेपालको सानो बजार र कमजोर कानूनी संरचनाका कारण विदेशी लगानीकर्ताहरू आकर्षित हुन नसकेको बताए । छिमेकी मुलुकहरू चीन र भारतबीच वैदेशिक लगानी आकर्षित गर्न तिब्र प्रतिष्पर्धा भइरहेको उदाहरण दिँदै उहाँले नेपालले पनि आफ्नो कार्यवातावरणलाई थप प्रभावकारी, चुस्त र आकर्षक बनाउनुपर्नेमा जोड दिए ।