अटो शोमा बैंकको अफरै-अफर, ४.९४ प्रतिशतदेखि सवारी कर्जा

विज्ञापन
ncell

अटो शोको अवसर पारेर विभिन्न बैंक तथा वित्तीय संस्थाले ४.९४ प्रतिशतदेखि सुरु हुने ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेका छन् ।

काठमाडौं ।  १८औँ नाडा अटो शो २०२६ लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरूबीच सवारी कर्जा सस्तो बनाउने प्रतिस्पर्धा तीव्र बनेको छ । अटो शोको अवसर पारेर विभिन्न बैंक तथा वित्तीय संस्थाले ५.०२ प्रतिशतदेखि सुरु हुने ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेका छन् ।

उपलब्ध योजनामध्ये राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा कम ५.०२ प्रतिशत ब्याजदरबाट अटो कर्जा उपलब्ध गराएको छ। बैंकले अधिकतम सात वर्षसम्मका लागि कर्जा दिने जनाएको छ। १ करोड रुपैयाँसम्मको कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ ।

त्यस्तै, कुमारी बैंकले ५.२१ प्रतिशत ब्याजदरमा अधिकतम १० वर्षसम्मका लागि अटो कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ब्याजदर अझै घट्न सक्ने जनाएको छ। कर्जामा ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ। व्यावसायिक सवारी खरिदका लागि भने आधार दरमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जा उपलब्ध गराइनेछ ।

नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा सात वर्षसम्मका लागि अटो कर्जा उपलब्ध गराएको छ। बैंकको सेवा शुल्क ०.५० प्रतिशत रहेको छ। व्यावसायिक सवारीका लागि भने ब्याजदर ६.९२ प्रतिशत कायम गरिएको छ । प्रभु बैंकले करिब ५.४४ प्रतिशत ब्याजदरमा सात वर्षसम्मका लागि अटो लोन उपलब्ध गराएको छ। निजी तथा व्यावसायिक दुवै सवारीका लागि समान ब्याजदर कायम गरिएको बैंकले जनाएको छ। यसमा सेवा शुल्क ०.५० प्रतिशत रहेको छ ।

यस्तै,नेपाल बैंकले ४.९४ प्रतिशत ब्याजदरमा अटो कर्जाको स्किम ल्याएको छ। बैंकले बेसरेटमा ०.४९ प्रतिशत ब्याजदर प्रिमियम जोडेर अटो कर्जा दिइरहेको छ । बैंकले प्रशासनिक सेवा शुल्क ०.५० प्रतिशत कायम गरेको छ । अटो कर्जा लिने ग्राहकलाई अधिकतम ३ लाख रुपैयाँ सीमासहित आजीवन निःशुल्क क्रेडिट कार्डसमेत उपलब्ध गराउने बैंकले जनाएको छ। यो योजना विद्युतीय सवारीसहित नयाँ निजी तथा व्यावसायिक सवारी खरिदमा लागू हुनेछ ।

गोर्खाज फाइनान्सले सात वर्षसम्मका लागि ६.७१ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराएको छ । फाइनान्सको सेवा शुल्क भने १ प्रतिशत रहेको छ।

अटो शोमा महालक्ष्मी विकास बैंकले पनि ग्राहकलाई सवारी कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय गर्ने जनाएको छ। बैंकका अनुसार विकास बैंकहरूमध्ये प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउँदै आएको बैंकले अटो शोको अवसरमा आकर्षक ब्याजदरका साथै प्रशासनिक शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ।

बैंकका अनुसार भदौ महिनाका लागि यसको आधार दर ५.६४ प्रतिशत रहेको छ। आधार दरमा आएको कमीको प्रत्यक्ष लाभ सवारी कर्जा लिने ग्राहकले लिन सक्ने बैंकको भनाइ छ ।

त्यस्तै, कृषि विकास बैंकले निजी सवारीका लागि ५.६६ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराएको छ। व्यावसायिक सवारी तथा हायर पर्चेजतर्फ सात वर्षसम्मका लागि ६.३३ प्रतिशत ब्याजदर कायम गरिएको छ। यसमा सेवा शुल्क ०.५० प्रतिशत रहेको छ।

नाडा अटो शोमा सवारी खरिदका लागि ग्राहकको आकर्षण बढाउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर, सेवा शुल्क, कर्जा अवधि तथा अन्य सुविधामा प्रतिस्पर्धा बढाएका छन् । यसले नयाँ सवारी खरिद गर्ने ग्राहकलाई आफ्नो आवश्यकता र कर्जाको लागतअनुसार विभिन्न विकल्प छनोट गर्ने अवसर दिएको छ ।