आउटसोर्सिङबाट आएका श्रमिकको हकमा रोजगारदाता दायित्वबाट पन्छिन मिल्दैनः श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग
उनले आउटसोर्सिङबाट आएको श्रमिक भएपनि श्रमिकको सुरक्षा, पारिश्रमिक र श्रम अधिकार सुनिश्चित गर्ने जिम्मेवारी रोजगारदाताको भएको स्पष्ट पारे ।
काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आउटसोर्सिङमार्फत श्रमिक काममा लगाएको भन्दै रोजगारदाता आफ्नो कानुनी दायित्वबाट पन्छिन नमिल्ने स्पष्ट पारेको छ ।
मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणी पाण्डेले यस्तो बताएका हुन् । उनले आउटसोर्सिङबाट आएको श्रमिक भएपनि श्रमिकको सुरक्षा, पारिश्रमिक र श्रम अधिकार सुनिश्चित गर्ने जिम्मेवारी रोजगारदाताको भएको स्पष्ट पारे । उनले आउटसोर्सिङबाट आएका कामदारको हकमा रोजगारदाताले सबै जिम्मेवारी आउटसोर्सिङ कम्पनीलाई थोपार्ने प्रवृत्ति रहेको पनि बताए । महानिर्देशक पाण्डेले विभागले श्रम ऐन कार्यान्वयनका सबै विषय नियमित रूपमा अनुगमन गर्न नसक्ने र विभागमा उजुरी परेका विषयमा मुख्य रूपमा कारबाही तथा छानबिन गरिरहेको समेत बताए । उनले अदक्ष श्रमिकको हकमा रोजगारदाताले शुरुका तीन महिना आवश्यक तालिम उपलब्ध गराउनुपर्ने र त्यसपछि राज्यले तोकेको न्युनतम पारिश्रमिक दिनुपर्ने व्यवस्था कार्यान्वयनमा समस्या देखिएको बताए । महानिर्देशक पाण्डेले श्रम ऐन कार्यान्वयनका क्रममा देखिएका व्यावहारिक समस्याको समाधानका लागि श्रमिक र रोजगारदाता दुवैलाई कानूनबारे जानकारी र सचेतना फैलाउन आवश्यक रहेको बताए ।
