रसुवामा भीषण बाढीको वितण्डा, दर्जनौँ जलविद्युत् संरचनामा क्षति
उक्त क्षेत्रमा रहेका विद्युत् आयोजनाका भौतिक संरचनामा क्षति पुगेपछि त्यहाँ कार्यरत कर्मचारीहरूसँग हाल सम्पर्क विच्छेद भएको छ ।
काठमाडौँ । बुधबार बिहान आएको भीषण बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा रहेका नेपाल विद्युत् प्राधिकरण र अन्य जलविद्युत् आयोजनाका पावरहाउसहरूमा ठूलो क्षति पुगेको छ ।
बाढीले रसुवागढी जलविद्युत् आयोजना, त्रिशूली ३बी हब, त्रिशूली जलविद्युत्, अपर त्रिशूली ३ए तथा देवीघाट जलविद्युत् आयोजनाका पावर हाउस एवं पूर्वाधारहरूमा गम्भीर क्षति पुर्याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बाढीको तीव्र बहावले प्रसारण लाइन र अन्य प्राविधिक संरचनामा समेत असर पारेको छ । उक्त क्षेत्रमा रहेका विद्युत् आयोजनाका भौतिक संरचनामा क्षति पुगेपछि त्यहाँ कार्यरत कर्मचारीहरूसँग हाल सम्पर्क विच्छेद भएको छ । प्रभावित क्षेत्रमा कार्यरत कर्मचारी र प्राविधिकहरूसँग सम्पर्क स्थापित गर्न तथा उनीहरूको अवस्था बुझ्न तीव्र प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
घटना स्थलमा उद्धार टोली र उच्च टोली पठाउने तयारी भइरहेको तथा क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जनाइएको छ।
