भोटेकोशी बाढीबाट १५ जलविद्युत् आयोजना प्रभावित, ७५३ मेगावाट क्षमतामा असर

विज्ञापन
ncell

प्रारम्भिक विवरणअनुसार बाढीबाट दुवै जिल्लाका १० सञ्चालनमा रहेका र ५ निर्माणाधीन गरी १५ जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

काठमाडौँ । भोटेकोशी नदीमा बुधबार बिहान आएको अकस्मात् बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार बाढीबाट दुवै जिल्लाका १० सञ्चालनमा रहेका र ५ निर्माणाधीन गरी १५ जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

नेपाल इप्पानका अनुसार प्रभावित आयोजनाहरूको कुल क्षमता ७५३ मेगावाट रहेको छ। त्यसमध्ये सञ्चालनमा रहेका आयोजनाको क्षमता ३५९ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३९४ मेगावाट रहेको छ ।

रसुवा जिल्लामा मात्रै ८ वटा प्रमुख जलविद्युत् आयोजना बाढीको चपेटामा परेका छन्। निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ र १२० मेगावाटको रसुवा–भोटेकोशी आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ ।

त्यस्तै, सञ्चालनमा रहेका १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, २२ मेगावाटको चिलिमे र २० मेगावाटको लाङटाङ खोला लगायतका आयोजनाहरू पनि प्रभावित भएका छन् ।

इप्पानका अनुसार रसुवामा सञ्चालनमा रहेका ५ आयोजना र निर्माणाधीन ३ आयोजना गरी करिब ५७८ मेगावाट क्षमताका आयोजनामा बाढीको असर परेको छ ।

यता, नुवाकोटको त्रिशूली करिडोरमा रहेका जलविद्युत् आयोजनाहरूमा पनि बाढीले क्षति पुर्‍याएको छ । सञ्चालनमा रहेका ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए, २४ मेगावाटको त्रिशूली, १४.१ मेगावाटको देवीघाट र २५ मेगावाटको सोलार आयोजना प्रभावित भएका छन् ।

त्यसैगरी निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी र १५.६ मेगावाटको मिडल त्रिशूली गंगा आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

नुवाकोटमा सञ्चालनमा रहेका ५ र निर्माणाधीन २ आयोजना गरी करिब १७५.६ मेगावाट क्षमताका आयोजनामा बाढीको असर परेको बताइएको छ ।

बाढीका कारण सञ्चालनमा रहेका आयोजनाबाट विद्युत् उत्पादन प्रभावित हुनुका साथै निर्माणाधीन आयोजनाको कामसमेत रोकिएको छ । यसबाट ऊर्जा क्षेत्रमा ठूलो आर्थिक क्षति हुने प्रारम्भिक अनुमान गरिएको छ ।

यद्यपि, बाढीबाट भएको क्षतिको यकिन विवरण भने अझै आउन बाँकी छ । प्रभावित आयोजनाहरूमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको नेपाल इप्पानले जनाएको छ ।