रेमिट्यान्स आप्रवाह २३ खर्ब ६३ अर्ब, अघिल्लाे वर्षभन्दा ३७‍.१ प्रतिशतले बढी

विज्ञापन
ncell

समीक्षा वर्षमा डलरमा रेमिट्यान्स आप्रवाह २८.१ प्रतिशतले वृद्धि भई १६ अर्ब १९ करोड अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।

काठमाडौँ । मुलुकको बाह्य क्षेत्रलाई बलियो बनाउँदै रेमिट्यान्स आप्रवाहले आर्थिक वर्ष २०८२/८३ मा नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा वर्षमा रेमिट्यान्स आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा समेत रेमिट्यान्स आप्रवाह उल्लेख्य बढेको छ । समीक्षा वर्षमा डलरमा रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले वृद्धि भई १६ अर्ब १९ करोड अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष डलरमा यस्तो आप्रवाह १६.३ प्रतिशतले बढेको थियो ।

असार महिनामा मात्रै नेपालमा २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको असारमा १ खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। यस आधारमा एक वर्षको अवधिमा असारको रेमिट्यान्स आप्रवाह पनि उल्लेख्य बढेको देखिन्छ।

वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो

रेमिट्यान्स आप्रवाहमा उच्च वृद्धि भए पनि वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या भने अघिल्लो वर्षको तुलनामा घटेको छ।

राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या ४ लाख ६ हजारभन्दा बढी रहेको छ। अघिल्लो वर्ष यस्तो संख्या ५ लाख ५ हजार ९५७ थियो।

त्यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्ष ३ लाख ८५ हजारभन्दा बढी रहेको छ । अघिल्लो वर्ष पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३३ हजार थियो । यसले नयाँ श्रम स्वीकृति लिनेको संख्या घटे पनि वैदेशिक रोजगारीमा रहेका नेपालीबाट भित्रिने रेमिट्यान्समा भने उल्लेख्य वृद्धि भएको देखाएको छ ।