रसुवा बाढी प्रभावितका लागि एनआरएनएको ५ करोड सहयोग घोषणा

विज्ञापन
ncell

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै एनआरएनएले प्रभावितको जीवनरक्षा, उद्धार तथा राहतलाई उच्च प्राथमिकतामा राख्न नेपाल सरकार, स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरेको छ।

एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्काका अनुसार संघले आकस्मिक बैठक बसेर रसुवा बाढी प्रभावितका लागि तत्काल राहत तथा उद्धार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार’ मूल समिति गठन गरिएको छ।

त्यस्तै, आर्थिक सहयोग संकलनका लागि कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा समिति, स्वयंसेवक परिचालनका लागि उपाध्यक्ष मनोज गोर्खालीको संयोजकत्वमा समिति तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) परिचालनका लागि महासचिव डा. खड्काको संयोजकत्वमा छुट्टाछुट्टै समिति गठन गरिएको संघले जनाएको छ।

विपद् व्यवस्थापन समिति तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्ने जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलाई दिइएको छ। प्रभावित क्षेत्रमा आवश्यक मेडिकल टोली तथा स्वयंसेवक टोली तत्काल परिचालन गर्ने निर्णयसमेत एनआरएनएले गरेको छ।

संघले उद्धार तथा राहत कार्यमा सहभागी हुन आफ्ना पदाधिकारी तथा सदस्यहरूलाई स्वयंसेवकका रूपमा खटिन अपिल गरेको छ। विभिन्न देशमा रहेका एनआरएनएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लाई पनि आईसीसीमा गठन गरिएजस्तै समिति बनाएर रसुवा बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक आर्थिक सहयोग जुटाउन निर्देशन दिइएको छ। एनआरएनएले नेपाल सरकारको संयन्त्रमार्फत उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहकार्य गर्न आफू तयार रहेको जनाएको छ। सरकार तथा सम्बन्धित निकायसँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरिएको छ।

आर्थिक सहयोग संकलनका लागि डेबिट कार्ड, पेपाल तथा अन्य डिजिटल वालेटमार्फत एनआरएनएको आधिकारिक पोर्टल र बैंकिङ माध्यमबाट रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइने संघले जनाएको छ। यसैगरी, एनआरएनएका सदस्य तथा पदाधिकारीका परिवारका सदस्यहरू बाढीबाट प्रभावित भए–नभएको विवरण संकलन गरी आवश्यक उद्धार तथा राहतका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय गरिने भएको छ।

महासचिव डा. चिरञ्जीवी खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते र प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।