रसुवा बाढीपछि उद्धार तथा राहतका लागि आर्थिक सहयोग गर्न सरकारको अपिल

विज्ञापन
ncell

सरकारले प्राप्त हुने सहयोग रकम बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत वितरण र आवश्यक पुनःस्थापनाका कार्यमा उपयोग गरिने जनाएको छ ।

काठमाडौं । सरकारले रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्न आम नागरिक तथा विभिन्न संघसंस्थासँग अपिल गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रसुवा बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि सहयोग गर्न आग्रह गरेको हो । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग गर्न सकिने जनाएको छ ।

बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको र प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धारका सामग्री आवश्यक रहेकाले सहयोग जुटाउन सरकारले अपिल गरेको हो । विपद्को यस कठिन समयमा सरकारी निकायसँगै निजी क्षेत्र, संघसंस्था, गैरसरकारी संस्था तथा सर्वसाधारणको सहयोग महत्वपूर्ण हुने सरकारले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहयोग रकम जम्मा गर्न विभिन्न आठ वटा बैंकका खाता नम्बर सार्वजनिक गरेको छ । इच्छुक व्यक्ति तथा संस्थाले ती बैंक खातामार्फत आफ्नो क्षमता र इच्छाअनुसार आर्थिक सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

सरकारले प्राप्त हुने सहयोग रकम बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत वितरण र आवश्यक पुनःस्थापनाका कार्यमा उपयोग गरिने जनाएको छ । साथै, विपद्को समयमा मानवीय सहयोगका लागि सबै पक्षलाई एकजुट हुन सरकारले आग्रह गरेको छ ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामलाई तीव्रता दिइएको छ । जोखिममा रहेका नागरिकको उद्धार, विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक राहत सामग्री उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको सरकारले जनाएको छ ।