रसुवा बाढीः हालसम्म १५७ जनाको शव फेला, सयौं बेपत्ता
तीन जिल्लामा ठूलो जनधनको क्षति
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट ठूलो धनजनको क्षति भएको छ । नेपाल प्रहरीका अनुसार चितवन, धादिङ, तनहुँ, गोरखा, रसुवा, नुवाकोट, नवलपरासी पूर्वमा गरी कम्तीमा १५७ जनाको शव फेला परेको छ ।
खोज तथा उद्धारको काम जारी छ । बाढीबाट सार्वजनिक तथा निजी भवन तथा सडकमार्गजस्ता भौतिक संरचनाहरुमा क्षति पुगेको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ ।
सरकारले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष खडा गरेको छ । देशी-विदेशी संघ संस्थाले सहयोगको घोषणा सुरु गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्ने भएको छ।
संघका अध्यक्ष डा.हेमराज शर्माका अनुसार पहिलो चरणमा नुवाकोटमा टेन्ट, खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका राहत सामग्री वितरण गरिनेछ।
यसअघि बुधबार बसेको संघको आकस्मिक बैठकले राहत तथा उद्धारका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने र प्रभावित क्षेत्रमा चिकित्सकहरूको टोली पठाउने निर्णय गरेको थियो।
संघले विश्वभर रहेका आफ्ना राष्ट्रिय समितिहरूलाई उद्धार तथा राहत कार्यमा परिचालन गर्ने निर्णयसमेत गरेको छ। राहत वितरणका लागि संघका अध्यक्ष डा। हेमराज शर्मासहितको टोली बिहीबार बिहान नुवाकोट पुग्ने तयारीमा रहेको छ।
