छोछेन खोला र प्युरेपु साङ्पो नदी थुनिएर ठूलो ताल बन्दै, पुन: बाँध फुट्ने जोखिम

विज्ञापन
ncell

चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) का अनुसार आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा प्रवेश गर्ने अनुमान गरिएको छ । यसले तालको प्राकृतिक बाँध फुट्ने र त्यसबाट अचानक बाढी आउन सक्ने जोखिम बढाएको छ ।

काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले नेपालमा छोछेन खोला र प्युरेपु साङ्पो नदीको संगम नजिक ठूलो प्राकृतिक ताल बनेको जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ भने तालबाट पानी बाहिरिनसमेत थालेको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी) का अनुसार आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा प्रवेश गर्ने अनुमान गरिएको छ । यसले तालको प्राकृतिक बाँध फुट्ने र त्यसबाट अचानक बाढी आउन सक्ने जोखिम बढाएको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको छ । मन्त्रालयले सम्भावित बाँध फुट्ने अवस्थाको पूर्वानुमान गर्न बाढीसम्बन्धी विभिन्न सिमुलेसन तथा प्राविधिक विश्लेषण गरिरहेको र आपत्कालीन उद्धार कार्यका लागि आवश्यक सहयोगको तयारी गरिरहेको जनाएको छ ।

यसैबीच, नेपाल–चीन सीमाको नेपाली भूभागबाट आएको विनाशकारी पहिरोले दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ (केरुङ) बन्दरगाह क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि चिनियाँ अधिकारीहरूले विभिन्न मोर्चाबाट उद्धार तथा राहत टोली परिचालन गरेका छन् ।

उद्धार कार्यमा आपत्कालीन उद्धारकर्मी, चिनियाँ जनमुक्ति सेना, इन्जिनियरिङ टोली, दूरसञ्चार सेवा प्रदायक तथा राहत संस्थाहरू सहभागी भएका छन् । उनीहरूले जनशक्ति, हेलिकोप्टर तथा अन्य विमान, उद्धार उपकरण र राहत सामग्री प्रभावित क्षेत्रमा पठाइरहेका छन् ।


उद्धारकर्मीहरूले कठिन भौगोलिक अवस्था, निरन्तर भइरहेको वर्षा तथा थप प्राकृतिक विपद्को बढ्दो जोखिमबीच खोज तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्।


बिहीबार बिहानसम्म उक्त विपद्मा तीन जनाको मृत्यु पुष्टि भएको, दुई जनाको उद्धार गरिएको र ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन्। बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको जनाइएको छ।