अस्ट्रेलियाद्वारा नेपाललाई ५० लाख डलर सहयोगको घोषणा, बाढीमा ३९ अस्ट्रेलियाली नागरिक बेपत्ता
एजेन्सी । अस्ट्रेलिया सरकारले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि ५० लाख अस्ट्रेलियाली डलर अर्थात् करिब ५४ करोड ५० लाख रुपैयाँ बराबरको मानवीय सहायता प्याकेज घोषणा गरेको छ । अस्ट्रेलियाली सरकारले विपद्को प्रतिक्रिया स्वरूप कन्सुलर तथा मानवीय सहयोग द्रुत गतिमा परिचालन गरिरहेको जनाएको छ। साथै, बाढी प्रभावित क्षेत्रमा कम्तीमा ३९ जना अस्ट्रेलियाली नागरिक बेपत्ता रहेको पुष्टि भएको छ।
बेपत्ता अस्ट्रेलियाली नागरिकहरूको अवस्थाबारे जानकारी लिन तथा विपद्बाट प्रभावित व्यक्तिहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन अस्ट्रेलियाली अधिकारीहरू सक्रिय रूपमा काम गरिरहेका छन् । अस्ट्रेलिया सरकारले विपद्को असामान्य स्तर र प्रभावित क्षेत्रको विकट भौगोलिक अवस्थाका कारण उद्धार, राहत तथा पुनःस्थापनाका काममा आगामी दिनहरूमा थप चुनौती देखिने जनाएको छ । अस्ट्रेलियाको परराष्ट्र तथा व्यापार विभागले प्रभावित अस्ट्रेलियाली नागरिकलाई सहयोग गर्न थप कर्मचारी परिचालन गरिरहेको छ । नेपालस्थित अस्ट्रेलियाली दूतावासका कर्मचारीसँगै संकट प्रतिकार्य टोलीका एक सदस्य र क्षेत्रीय कन्सुलर अधिकृतलाई काठमाडौंमा खटाइएको छ । थप क्षेत्रीय तथा संकट प्रतिकार्य कर्मचारीलाई समेत आवश्यकताअनुसार परिचालन गर्ने तयारी भइरहेको बताइएको छ ।
नेपालमा पहिलेदेखि कार्यरत अस्ट्रेलियाली कर्मचारीलाई सहयोग गर्न आगामी ४८ घण्टाभित्र तीन जना मानवीय प्रतिकार्य विशेषज्ञहरूको प्रारम्भिक टोली नेपाल पठाइने अस्ट्रेलिया सरकारले जनाएको छ । ‘अस्ट्रेलिया असिस्ट्स’ कार्यक्रमबाट छनोट गरिएका ती विज्ञहरू मानवीय अवस्था मूल्यांकन, बन्दोबस्ती, सञ्चार तथा आपतकालीन योजनामा दक्ष रहेको बताइएको छ । व्यापक मानवीय प्रतिकार्यको हिस्साका रूपमा अस्ट्रेलियाले नेपालमा तत्काल राहत, उद्धार, प्रतिकार्य तथा पुनःस्थापना प्रयासलाई सहयोग गर्न ५० लाख डलर उपलब्ध गराउनेछ ।
उक्त रकम स्थापित मानवीय साझेदार संस्थामार्फत खाद्यान्न, आपतकालीन आवास, स्वच्छ खानेपानी तथा सरसफाइलगायत अत्यावश्यक सामग्री र सेवा उपलब्ध गराउन खर्च गरिनेछ ।
बाढीले नेपाल–चीन सीमाका दुवैतर्फका समुदायमा ठूलो क्षति पुर्याएको, बस्तीहरू बगाएको, महत्त्वपूर्ण पूर्वाधार ध्वस्त बनाएको तथा हजारौं मानिस विस्थापित भएको अस्ट्रेलिया सरकारले जनाएको छ । सडक तथा पुलहरू ध्वस्त भएपछि धेरै प्रभावित समुदाय अझै पनि सम्पर्कविहीन अवस्थामा रहेका छन् । दुर्गम क्षेत्रमा पुग्न कठिनाइ भइरहेकाले तत्काल मानवीय सहायता आवश्यक रहेको पनि जनाइएको छ ।
घोषित ५० लाख डलर सहायता रकममध्ये २० लाख डलर विश्व खाद्य कार्यक्रमलाई उपलब्ध गराइनेछ । उक्त रकम नेपालको आपतकालीन प्रतिकार्यका लागि खाद्यान्न सामग्री तथा बन्दोबस्ती सहयोग परिचालन गर्न प्रयोग हुनेछ ।
त्यसैगरी थप २० लाख डलर अस्ट्रेलियाली मानवीय साझेदारीमार्फत अस्ट्रेलियाली गैरसरकारी संस्थाहरूलाई उपलब्ध गराइनेछ । उक्त रकम आपतकालीन आवास, सरसफाइ सामग्री, कम्बल, चिकित्सा सहायता तथा मनोसामाजिक सहयोगमा खर्च गरिने बताइएको छ । बाँकी १० लाख डलर प्रभावित क्षेत्रमा स्थानीय नेतृत्वमा सञ्चालन हुने पुनःस्थापना तथा पुनर्निर्माण प्रयासलाई सहयोग गर्न इमर्जेन्सी एक्सन अलायन्सलाई उपलब्ध गराइनेछ ।
