बाढीपीडितको उद्धारका लागि श्रीलंकाद्वारा १० लाख डलर सहयोगको घोषणा

विज्ञापन
ncell

श्रीलंकाली विदेश मन्त्रालयले राहत कार्यका लागि नेपाल सरकारसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ ।

काठमाडौं । रसुवा क्षेत्रमा आएको बाढीका कारण ठूलो संकटमा परेको नेपाललाई श्रीलंका सरकारले १० लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) मानवीय सहायता उपलब्ध गराउने भएको छ । श्रीलंकाको विदेश मन्त्रालयका अनुसार नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा जारी राहत र पुनस्र्थापना कार्यमा सहयोग पुर्‍याउन उक्त रकम निकासा गर्न निर्देशन दिएका हुन् ।

प्राकृतिक विपत्तिले नेपालमा पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति दिसानायकेले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । यसअघि श्रीलंकाका विदेशमन्त्री विजिता हेराथले नेपाली समकक्षीसँग टेलिफोन संवाद गर्दै ऐक्यबद्धता जनाएका थिए । नेपाल र श्रीलंकाबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै राष्ट्रपतिले कठिन समयमा श्रीलंका सधैं नेपाली जनताको साथमा रहने प्रतिबद्धता जनाएका छन् । श्रीलंकाली विदेश मन्त्रालयले राहत कार्यका लागि नेपाल सरकारसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ ।