प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब बाढी पीडितलाई

विज्ञापन
ncell

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।

 काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उक्त निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिएका हुन्।

गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्र तथा भोटेकोशी नदी आसपास आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण हालसम्म ४ सय ७७ जनाको शव फेला परेको बताइएको छ भने ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन् ।

विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सबैसँग आग्रह गर्दै आएको छ । यही परिस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले पनि आफ्नो एक महिनाको तलब तथा पारिश्रमिक कोषमा उपलब्ध गराउने निर्णय गरेका हुन् ।

मन्त्रिपरिषद्को निर्णयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने उल्लेख गरिएको छ ।