रसुवा बाढपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत तथा पुनर्स्थापना कार्यक्रम

विज्ञापन
ncell

बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै फाउन्डेसन र बैंकले प्रभावित समुदायको तत्काल राहतदेखि दीर्घकालीन पुनर्स्थापनासम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि करिब १५ करोड रुपैयाँ बराबरको बृहत् राहत, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यक्रम घोषणा गरेका छन् । बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै फाउन्डेसन र बैंकले प्रभावित समुदायको तत्काल राहतदेखि दीर्घकालीन पुनर्स्थापनासम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रमलाई विभिन्न चरणमा कार्यान्वयन गरिने जनाइएको छ। यसअन्तर्गत बाढीपीडित परिवारको तत्काल आवश्यकता सम्बोधन गर्नुका साथै सुरक्षित आवास, स्वास्थ्य सेवा, पुनर्स्थापना तथा दीर्घकालीन सामुदायिक उत्थानका क्षेत्रमा सहयोग पुर्‍याइनेछ ।

पहिलो चरणमा प्रभावित परिवारलाई खाद्यान्न, आवश्यक स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक राहत सामग्री वितरण सुरु गरिएको छ। राहत प्याकेजमा तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, तिरपाल तथा व्यक्तिगत सरसफाइका सामग्री समावेश छन् ।

चौधरी फाउन्डेसन र नबिल बैंकले भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन थालेका छन् । राहत वितरण तथा समन्वयका लागि दुवै संस्थाका कर्मचारी स्थानीयस्तरमा परिचालित भइसकेको चौधरी ग्रुपले जनाएको छ ।

स्थानीय प्रशासनसँगको सहकार्यमा रसुवा र नुवाकोटमा एक–एक वटा गरी दुईवटा व्यवस्थित राहत शिविर पनि सञ्चालन गरिने भएको छ। शिविरमा प्रभावित परिवारलाई दैनिक भोजनको व्यवस्था गरिनुका साथै बालबालिकाका लागि सुरक्षित स्थान, स्वच्छ खानेपानी र सरसफाइका आवश्यक सुविधा उपलब्ध गराइनेछ ।

त्यस्तै, धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा तथा रोग रोकथामका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाइएको छ । बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य बनेका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गर्न सरकार र स्थानीय तहसँग सहकार्य गरिनेछ । स्थायी पुनर्निर्माण सम्पन्न नभएसम्म प्रभावित परिवारलाई सुरक्षित र सम्मानजनक आवास उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

पुनर्निर्माणअन्तर्गत स्थायी आवाससँगै आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा समेत सहयोग गरिने जनाइएको छ। साथै, दीर्घकालीन योजनाअन्तर्गत धुलिखेल अस्पतालसँग सहकार्य गरी संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्ने तयारीसमेत गरिएको छ । उक्त केन्द्रले रोगको निगरानी तथा पहिचान, रोकथाममूलक स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा बाढी र अन्य विपद्पछि देखिन सक्ने संक्रामक रोगको प्रभावकारी व्यवस्थापनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले अहिलेको मुख्य प्राथमिकता प्रभावित नागरिकको जीवन रक्षा र उनीहरूलाई आवश्यक खाना, आवास तथा स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको बताए ।

उनले आपत्कालीन राहतमा मात्र सीमित नभई अस्थायी आवास, स्थायी पुनर्स्थापना र सुदृढ जनस्वास्थ्य तयारीसम्म सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

फाउन्डेसन र बैंकले नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकसँग समन्वय गरेर राहत तथा सहायता सबैभन्दा बढी प्रभावित र जोखिममा रहेका परिवारसम्म पुर्‍याउने बताएका छन् । राष्ट्रिय संकटका बेला प्रभावित समुदायको साथमा उभिँदै उनीहरूको सुरक्षित, स्वस्थ र विपद्–प्रतिरोधी भविष्य निर्माणमा सहयोग गर्ने उद्देश्यले यो पहल अघि बढाइएको चौधरी ग्रुपले जनाएको छ ।