माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी

विज्ञापन
ncell

नेपाल विद्युत प्राधिकरणकाअनुसार प्रारम्भिक विवरणमा करिब ३ सय ७५ जना बेपत्ता वा सम्पर्कविहीन छन् भने ४ सय ३० मेगावाट क्षमताका करिव १५ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

काठमाडौं । रसुवा बाढीका कारण जलविद्युत आयोजना तथा प्रशारण संरचनामा ठूलो क्षति पुगेको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार प्रारम्भिक विवरणमा करिब ३ सय ७५ जना बेपत्ता वा सम्पर्कविहीन छन् भने ४ सय ३० मेगावाट क्षमताका करिव १५ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

प्राधिकरणले हाल हराएका कर्मचारीलाई खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर काम गरिरेको छ । सम्पर्कविहीन रहेकामध्ये कति जना सुरुङ वा संरचनाभित्र फसेका छन् र कति जनालाई बाढीले बगाएको छ भन्ने यकिन हुन बाँकी रहेको प्राधिकरणका का.मु.कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको भुमिगत पावर हाउसमा केही कर्मचारी फसेको आशंका गरिएको छ । श्रेष्ठले उनीहरुलाई शनिवारसाँझसम्म उद्धार गर्ने गरि तयारी गरेको उनले जानकारी दिए ।

उनकाअनुसार सो आयोजनाका ४२ जना कर्मचारी सम्पर्कविहीन छन् । तीमध्ये आयोजनामा रहेका भूमिगत पावर हाउसमा ३२ देखि ३३ जनासम्म फसेको हुनसक्ने आशंका गरिएको उनले बताए । करिव १० जनालाई भने बाढीले बगाएको स्थानीय कर्मचारी तथा सर्वसाधारणबाट जानकारी आएको उनको भनाई छ । बाँकी कर्मचारी भने पावर हाउसको भूमिगत संरचनाभित्र रहेको आशंका गरिएको छ । श्रेष्ठकाअनुसार पावर हाउससम्म पुग्ने मुख्य एक्सेस टनेल माटो, ढुंगा र बोल्डरले पूर्णरूपमा भरिएकाले उद्धारमा कठिनाइ भएको छ । हाल केबल डक्टबाट उत्खनन गर्दै भूमिगत पावर हाउसतर्फ पुग्ने प्रयास भइरहेको छ । केबल डक्टबाट करिब १० देखि १२ फिट मात्रै उत्खनन गर्न बाँकी रहेको र त्यसपछि एक्सेस टनेलमा प्रवेश गर्न सकिने जानकारी फिल्डमा रहेका प्लान्ट म्यानेजरबाट प्राप्त भएको उनले जानकारी दिए । एक्सेस टनेलमा प्रवेश गरेपछि पावर हाउसभित्रको वास्तविक अवस्था र त्यहाँ रहेका व्यक्तिको अवस्थाबारे यकिन गर्न सकिने उनको भनाई छ ।

शनिबार साँझसम्म उद्धार टोली पावर हाउसतर्फ पठाउनेगरि प्राधिकरणले तयारी गरिररहेको उनले जानकारी दिए । उनकाअनुसार प्राधिकरणले उद्धार कार्यलाई प्राथमिकतामा राखेर युद्धस्तरमा काम गरिरहेको छ । चिलिमे जलविद्युत कम्पनीको पावर हाउसमा पनि ८ जना कर्मचारी फसेको जानकारी आएकोले उद्धारको लागि टोलि परिचालन गरेको उनले जानकारी दिए । उनकाअनुसार उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टरमार्फछ टोली पठाईएको छ । कार्यकारी निर्देशक श्रेष्ठले बाढीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकनसमेत गर्न नसकिएको बताए । उनकाअनुसार सामान्य पहिरो तथा विपद्का घटनामा प्राधिकरणकै जनशक्ति र उपलब्ध विशेषज्ञताबाट उद्धार हुँदै आएको थियो । तर यसपटक क्षतिको परिमाण अपेक्षाभन्दा ठूलो भएकाले थप प्रविधि र विशेषज्ञ जनशक्ति आवश्यक पर्न सक्ने देखिएको उनले जानकारी दिए ।

प्राधिकरणकाअनुसार बाढीपहिरोबाट माथिल्लो त्रिशूली-३ ‘ए’, माथिल्लो त्रिशूली-३ ‘बी’, रसुवागढी जलविद्युत आयोजना, चिलिमे जलविद्युत् कम्पनी, त्रिशूली जलविद्युत् केन्द्रलगायतका आयोजनामा कार्यरत कर्मचारी, ठेकेदार, परामर्शदाता तथा चिनियाँ कामदार प्रभावित भएका छन् । माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाका ४२ जना, त्रिशूली जलविद्युत केन्द्रका २ जना, देवीघाटको १ जना, त्रिशूली-३ ‘बी’ हब सबस्टेसनका १६ जना, चिलिमे-त्रिशूली २२० केभी प्रशारण लाइन आयोजनाका २ जना, चिलिमे जलविद्युत कम्पनीका ८ जना, माथिल्लो त्रिशूली-३ ‘बी’ ९३७ मेगावाट० का करिब २१३ जना र रसुवागढी जलविद्युत आयोजना करिव ९३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले उद्धारका लागि आफ्ना कर्मचारी, उपकरण तथा स्रोतसाधन परिचालन गरेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

बाढीका कारण प्राधिकरण, प्राधिकरणको सहायक कम्पनी तथा निजी क्षेत्रका गरी करिब १५ वटा आयोजना प्रभावित भएका छन् । श्रेष्ठकाअनुसार करिव ४३० मेगावाट विद्युत उत्पादन प्रणालीबाट आउटेज भएको छ । यसमा करिव २५ मेगावाट क्षमताको सौर्य आयोजना पनि समावेश छ । क्षतिको विस्तृत मूल्यांकन भने तत्काल गर्न नसकिने श्रेष्ठले बताए । उनकाअनुसार अहिलेको क्षतिको परिमाण प्रारम्भिक अनुमानभन्दा निकै ठूलो देखिएको छ ।