बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार स्टारलिङ्क
शनिबार सामाजिक सञ्जाल एक्समार्फत कम्पनीले नेपाल सरकार र मानवीय सहायता निकायलाई सहयोग गर्न आवश्यक उपकरण पठाउन तथा निःशुल्क सेवा दिन अनुमति पर्खिरहेको बताएको हो ।
काठमाडौं । इलोन मस्कको भू–उपग्रहमा आधारित इन्टरनेट कम्पनी स्टारलिङ्कले नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन तयार रहेको जनाएको छ ।
शनिबार सामाजिक सञ्जाल एक्समार्फत कम्पनीले नेपाल सरकार र मानवीय सहायता निकायलाई सहयोग गर्न आवश्यक उपकरण पठाउन तथा निःशुल्क सेवा दिन अनुमति पर्खिरहेको बताएको हो ।
स्टारलिङ्कले बाढीपहिरोका कारण मोबाइल तथा अन्य सञ्चार सेवा अवरुद्ध भएको अवस्थामा उद्धार, स्वास्थ्य सेवा र सम्पर्कविहीन परिवारलाई जोड्न आफ्नो सेवा प्रभावकारी हुने जनाएको छ।
कम्पनीका अनुसार उपकरण जडान गर्न केही मिनेट मात्र लाग्ने र सञ्चालनका लागि विद्युत् तथा खुला आकाश आवश्यक पर्दछ ।