रसुवा बाढीमा बेपत्ता अष्ट्रेलियन नागरिकको संख्या ४३ पुग्यो

विज्ञापन
ncell

अष्ट्रेलिया सरकारले हालसम्म ४३ जना अष्ट्रेलियाली नागरिक सम्पर्कविहीन रहेको जानकारी दिएको हो। उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायहरू निरन्तर खटिरहेको बताइएको छ ।

काठमाडौं । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीमा परी बेपत्ता हुने अष्ट्रेलियन नागरिकको संख्या बढेर ४३ पुगेको छ । अष्ट्रेलिया सरकारले हालसम्म ४३ जना अष्ट्रेलियन नागरिक सम्पर्कविहीन रहेको जानकारी दिएको हो। उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायहरू निरन्तर खटिरहेको बताइएको छ ।

सहायक विदेशमन्त्री म्याट थिसलथ्वाइटले एबीसीसँग कुरा गर्दै बेपत्ता अष्ट्रेलियन नागरिकहरूलाई सुरक्षित र सकुशल उद्धार गर्न सकिने आशा अझै कायम रहेको बताएका छन् । ‘हामीले ती अष्ट्रेलियनहरूलाई सुरक्षित र सकुशल उद्धार गर्न सकिन्छ भन्ने आशा मारेका छैनौँ,’ उनले भने, ‘बेपत्ता अष्ट्रेलियनहरूको खोजी गर्न हामीले चौबीसै घण्टा खटेर सम्भव भएसम्मका सबै प्रयास गरिरहेका छौँ ।’

यसअघि बेपत्ताको सूचीमा रहेकी कारा सेभेरिनो भने पैदल हिँडेर सुरक्षित स्थानमा पुग्न सफल भएकी छन् । उनलाई सप्ताहान्तमा कन्सुलर अधिकारीहरूले सुरक्षित स्थानबाट उद्धार गरेका थिए । काराकी आमाबुबाले विज्ञप्ति जारी गर्दै उनकी नेपाली पदयात्रा (हाइकिङ) साथीहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

‘हामी उनका नेपाली पदयात्रा साथीहरूप्रति अत्यन्तै कृतज्ञ छौँ, जसले उनलाई अत्यन्तै कठिन भौगोलिक अवस्थामा धेरै दिनसम्मको कष्टकर पदयात्रामा साथ दिए,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीहरू सबै सुरक्षित भएकोमा हामी धेरै खुसी छौँ ।’

रसुवा क्षेत्रमा आएको भीषण बाढीपछि विभिन्न देशका नागरिकसमेत प्रभावित भएका छन् भने बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।