'विपद् व्यवस्थापनमा संघीय सरकारको कार्यशैली प्रभावकारी हुन सकेन'
विपद्को समयमा स्थानीय र प्रदेश सरकारहरू प्रभावकारी नदेखिएको भन्ने प्रश्नको उत्तर दिँदै उनले यसको मुख्य कारण संघीय सरकारको केन्द्रिकृत सोच भएको दाबी गरिन् ।
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी मुख्य सचेतक बासना थापाले विपद् व्यवस्थापन र राहत वितरणमा संघीय सरकारको कार्यशैली प्रभावकारी हुन नसकेको टिप्पणी गरेकी छन् । सिंहदरबारमा सोमबार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले विपद् प्रभावित क्षेत्रमा विशेषगरी महिला र बालबालिकाहरूको अवस्था निकै चुनौतीपूर्ण रहेको बताएकी छन् ।
मुख्य सचेतक थापाले प्रभावित क्षेत्रमा महिला र बालबालिकाले भोग्नुपरेका समस्याहरूलाई सम्बोधन गर्न मानव अधिकार र बाल अधिकारका क्षेत्रमा कार्यरत निकायहरूलाई काम गर्ने सहज वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गरिन् । विपद्को समयमा स्थानीय र प्रदेश सरकारहरू प्रभावकारी नदेखिएको भन्ने प्रश्नको उत्तर दिँदै उनले यसको मुख्य कारण संघीय सरकारको केन्द्रिकृत सोच भएको दाबी गरिन् ।
उनले राहत सामग्रीको उपलब्धता पर्याप्त भएपनि स्थानीय र प्रदेश तहलाई अधिकार नदिँदा वितरण प्रक्रिया व्यवस्थित हुन नसकेको जिकिर गरिन् ।
थापाकाअनुसार स्थानीय जनप्रतिनिधिहरू आफैँ विपद्को मारमा परेको र ठूलो मानवीय एवं भौतिक क्षति व्यहोरेको अवस्थामा उनीहरूलाई सरकारले उचित समन्वय र जिम्मेवारी दिएर परिचालन गर्नुपर्ने आवश्यकता छ ।
