पुनर्निर्माणको ठोस कार्यढाँचा तीन दिनभित्र पेश गर्न मन्त्री लम्सालको निर्देशन

विज्ञापन
ncell

उद्धार र राहतको चरणसँगै अब पुनर्निर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताए ।

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवा बाढीपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्यढाँचा ९फ्रेमवर्क० पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

सोमबार सिंहदरवारमा आयोजित बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो निर्देशन दिएका हुन् । उद्धार र राहतको चरणसँगै अब पुनर्निर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताए । मन्त्री लम्सालले राष्ट्रिय योजना आयोग, मुख्य सचिव र विज्ञ सुशील ज्ञवालीसहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्यढाँचा तयार पार्न निर्देशन दिएका हुन् । नयाँ संरचना खडा गर्दा समय लाग्ने भएकाले हालकै कानूनी व्यवस्थालाई टेकेर विगतको पुनर्निर्माण प्राधिकरण जस्तै शक्तिशाली र प्रभावकारी ढङ्गले काम गर्नसक्ने संयन्त्रको परिकल्पना गर्न उनले आग्रह गरे । मन्त्री लम्सालले विपद्को समयमा प्रमुख जिल्ला अधिकारीको कार्यालय र विपद् व्यवस्थापन प्राधिकरण स्वतः क्रियाशील हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै चासो व्यक्त गरे । 

भविष्यमा आइपर्ने जुनसुकै विपद्मा पनि राज्यका संयन्त्रहरू कसैको निर्देशन नपर्खी स्वचालित रूपमा उद्धार र पुनःस्थापनामा खटिन सक्ने गरी संयन्त्र बनाउनुपर्नेमा उनले जोड दिए । पुनर्निर्माणका लागि आवश्यक विभिन्न कार्यदलहरू गठन गरी तिनको कार्यक्षेत्र र जिम्मेवारी समेत तोकिने मन्त्री लम्सालले जानकारी दिए । बैठकको बाँकी सत्रमा प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालको नेतृत्वमा कार्यदलको अन्तिम रूपरेखा र जिम्मेवारी बाँडफाँट टुङ्ग्याइने बताइएको छ । मन्त्री लम्सालले ठोस योजना र कार्यदलको जिम्मेवारी स्पष्ट भएपछि मात्रै बैठक निष्कर्षमा पुग्ने बताए ।