टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन: प्रवक्ता पौडेल
भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनासँग सहकार्य काम गरिरहेको छ भने चिनियाँ टोलीले माथिल्लो त्रिशूली-३ ए आयोजना क्षेत्रमा खोजी गरिरहेको छ ।
काठमाडौँ । रसुवा बाढीका कारण जलविद्युत आयोजनाको सुरुङ (टनेल) मा फसेकाको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले टनेल रेक्स्युमा प्रगति हुन नसकेको बताएका हुन् । उनकाअनुसार टनेल रेस्क्यूको लागि नेपाली टोलीसँगै भारत र चीनबाट आएका टनेल विशेषज्ञहरूले काम गरिरहेका छन् । उद्धार टोलीले कठिन भौगोलिक अवस्थाबीच निरन्तर प्रयास गरिरहेको उनले बताए । उनकाअनुसार भारतबाट आएका २४ सदस्यीय दुई टोली र चीनबाट आएको नौ सदस्यीय विशेष सुरुङ उद्धार टोली जलविद्युत् आयोजनाको सुरुङमा परिचालित छन् ।
भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनासँग सहकार्य काम गरिरहेको छ भने चिनियाँ टोलीले माथिल्लो त्रिशूली-३ ए आयोजना क्षेत्रमा खोजी गरिरहेको छ । दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आउन लागेको उहाँले जानकारी दिनुभयो । बाढी गएको ७ दिनसम्म पनि चिलिमे र लाङटाङ, माथिल्लो त्रिशूली-३ ए, माथिल्लो त्रिशुली-३ बी लगायतका आयोजनामा फसेकाहरुको उद्धार गर्न सकिएको छैन ।
